७४ जिल्लामा फैलियो डेंगु

सफल खबर संवाददाता

सोमबार, ०३ भदौ २०८१, १९ : ११
७४ जिल्लामा फैलियो डेंगु

काठमाडौँ । एडिस एजेप्टाई र एडिस एल्वौपेक्टस नामक लामखुट्टेबाट सर्ने डेंगु नेपालका ७४ जिल्लामा फैलिएको छ । त्यसमध्ये इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (इडीसीडी) को पछिल्लो तथ्यांक अनुसार सबैभन्दा बढी तनहुँमा छन् ।

सन् २०२४ को सुरू अर्थात् गत पुसको मध्यदेखि हालसम्म ३ हजार ७५५ जनामा डेंगु सङ्क्रमण पुष्टि भएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (इडीसीडी) का अनुसार गण्डकीमा १ हजार ४४८, बागमतीमा ९२८ डेंगु सङ्क्रमित फेला परेका हुन् ।

त्यस्तै, कोशीमा ६३९, लुम्बिनीमा ३२८, सुदूरपश्चिममा २९५, मधेशमा ६५ र कर्णाली प्रदेशमा ५२ जनामा डेंगु सङ्क्रमण पुष्टि भएको छ । जिल्लागत रूपमा सबैभन्दा धेरै तनहुँमा ७१५, काठमाडौँमा ३५४, कास्कीमा २७४, झापामा १४७, चितवनमा १४५, पर्वतमा १३६, मकानपुरमा ९०, गोरखामा ८५ जना डेंगु सङ्क्रमित भेटिएका छन् ।

पछिल्ला दिनमा गण्डकीमा प्रदेशका जिल्लामा डेंगु फैलिने क्रम बिस्तारै बढ्दै छ । अब मनसुन बिस्तारै रोकिँदै गएसँगै डेंगुका बिरामी बढ्न सक्ने इडीसीडीका अधिकारी बताउँछन् । अघिल्लो वर्ष ७७ वटै जिल्लामा डेंगु फैलिँदा ५२ हजार भन्दा बढी सङ्क्रमित भएका थिए भने २० जनाको मृत्यु भएको थियो ।

प्रतिक्रिया दिनुहोस