बेचन झाविरुद्धको मुद्दामा आज थुनछेक बहस

सफल खबर संवाददाता

विहीबार, ३१ साउन २०८१, १० : २२
बेचन झाविरुद्धको मुद्दामा आज थुनछेक बहस

काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका बेचन झाविरुद्धको मुद्दामा आजबाट थुनछेक बहस सुरु हुँदैछ । थुनछेक बहसपछि धरौटीमा छाड्ने वा थुनामा पठाउने भन्ने आदेश हुनेछ ।

झाविरुद्ध जिल्ला सरकारी वकिल कार्यालयले मंगलबार जिल्ला अदालत काठमाडौँमा मुद्दा दायर गरेको थियो । झाले बुधबार न्यायाधीश तीर्थराज केसीको इजलासमा बयान दिएका थिए । इजलासमा झाको बयान सकिएपछि आजदेखि थुनछेक बहस हुन लागेको हो ।

प्रहरीले तयार पारेको रायसहितको अनुसन्धान प्रतिवेदनका आधारमा झाविरुद्ध जिल्ला अदालत काठमाडौंमा ठगी र संगठित अपराधको कसुरमा मुद्दा दर्ता भएको थियो ।अदालतमा दायर अभियोग पत्रमा समावेश झाको बयानमा उनले नक्कली भुटानी शरणार्थी प्रकरणबारे आफूलाई थाहै नभएको जिकिर गरेका छन् । सरकारी वकिलको रोहबरमा प्रहरीसँग उनले इन्कारी बयान दिएका हुन् । नक्कली भुटानी शरणार्थी प्रकरणबारे आफूलाई केही थाहा नभएको उनले बताएका थिए ।

अनुसन्धानका क्रममा अर्का आरोपी रामशरण केसीले झाको नाममा काटिदिएको दुई करोड रुपैयाँको चेक पनि प्रहरीले बरामद गरेको थियो । बेचनले त्यसबारे पनि थाहा नभएको बताएका छन् ।

 

प्रतिक्रिया दिनुहोस