जनताबाट तेस्रो जनआन्दोलनको माग भएको कुरा हेक्का रहोस् : प्रभु साह

सफल खबर संवाददाता

बुधबार, ३० साउन २०८१, २० : ०३
जनताबाट तेस्रो जनआन्दोलनको माग भएको कुरा हेक्का रहोस् : प्रभु साह

काठमाडौं । आम जनता पार्टी (आजपा) का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले देशमा शान्ति प्रक्रियाको हत्या गरिएको टिप्पणी गरेका छन् । उनले जनताले तेस्रो जनआन्दोलनको माग गरेको भन्दै ठुला दलका ठुला नेताहरूलाई हेक्का रहोस् भन्दै चेतावनी समेत दिए । 

बुधबार ‘बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग ऐन, २०७१ लाई संशोधन गर्न बनेको विधेयक’ को प्रतिवेदनमाथिको छलफलमा बोल्दै सांसद साह नेताहरुले बोलेको कुरालाई कसरी विश्वास गर्ने भन्ने प्रश्न गरे । उनले आफ्नो घर बनाउन नसक्नेले देश बनाउँछु भनेर मान्छेले नपत्याउने पनि बताए ।  उनले भने, 'यो भनेको इमानदारिताको कुरा हो । नेताहरूको इमानदारितामा ठुलो खडेरी पर्‍यो । जनताले विश्वास गर्न छोडे । यो भनेको देशमा यतिवेला नेतृत्वविहीनता र अराजकताको स्थिति हो । त्यो द्वन्द्वको स्थिति हो । त्यसको अन्त्यको लागि पनि इमानदारिताको जरुरी पर्छ । म नेताहरूलाई फेरि दोहोर्‍याए भन्छु–आफ्ना गल्तीहरूलाई पनि यहाँ उभिएर भन्नुहोस् । म फेरि पनि भन्छु कि शान्ति प्रक्रियाको हत्या गरिएको छ । शान्ति प्रक्रियाको मूल आत्मा मारिएको छ । जनतालाई फेरि जहाँको त्यहीँ पुर्‍याएको छ । र, तपाईँहरूले युद्ध निम्त्याउँदै हुनुहुन्छ । अहिले देशमा जनताबाट तेस्रो जनआन्दोलनको माग भएको छ । यसप्रति हेक्का रहोस् भन्न चाहन्छु ।’

 तर उनले विधेयक ढिलै आएपनि राष्ट्रिय सहमतिको साथ आएको भन्दै स्वागत गरे । साथै उनले यसको इमानदारितापूर्वक कार्यान्वयन हुनुपर्नेमा समेत जोड दिए । 

यसैगरी उनले शान्ति भन्नेबित्तिकै न्याय र समानतासँग जोडिने विषय भएकोले अहिले नेपालमा व्यवहारमा त्यस्तो नपाइएको गुनासो पोखे । 
साहले अहिले देशमा लोकतन्त्र नै नभएको टिप्पणी गरे । उनले प्रश्न गरे,‘अहिले देशमा लोकतन्त्र कहाँ छ ? नेपाली जनताले त लोकतन्त्रको लागि लडेका थिए । आज जनताको पोजिशन के छ ? एउटा निरीह, शासित, लाचारको रूपमा खडा हुनुपरेको छ । '

प्रतिक्रिया दिनुहोस