भारतीय विदेश सचिव मिश्री र उपप्रधानमन्त्री सिंहबीच भेटवार्ता

सफल खबर संवाददाता

सोमबार, २८ साउन २०८१, १२ : ५३
भारतीय विदेश सचिव मिश्री र उपप्रधानमन्त्री सिंहबीच भेटवार्ता

काठमाडौं । नेपाल भ्रमणका रहेका भारतीय विदेश सचिव विक्रम मिश्री र उपप्रधान तथा शहरी विकासमन्त्री प्रकाशमान सिंहसँग भेटवार्ता भएको छ । सोमबार बिहान शहरी विकास मन्त्रालयमा भएको भेटमा मिश्रीले उपप्रधानमन्त्री सिंहलाई बधाइ र कार्यकाल सफलताको शुभकामना दिएका छन् ।

भेटमा शहरी विकास, फोहोरमैला व्यवस्थापन, बागमती, विष्णुमती लगायतका नदीको स्वच्छताका विषयमा नेपाल–भारतबीच हुनसक्ने सहकार्यका विषयमा छलफल भएको छ ।

उपप्रधानमन्त्री सिंहले स्वच्छ भारत अभियान र गंगा नदी सफाइको अनुभव र प्रविधि नेपालका लागि उपयोगी हुनसक्ने भन्दै सहकार्यका लागि आग्रह गरे । त्यस्तै, मन्त्री सिंहले नेपाली नागरिकले आवतजावतमा समस्या भोगिरहेको भन्दै महाकाली नदीमा झोलुंगे पुल निर्माणमा भारतको सहजीकरण आवश्यक रहेको बताए ।

‘शहरी विकासको क्षेत्रमा भारतबाट के सहयोग हुनसक्छ भन्नेबारे छलफल भयो,’ शहरी विकास मन्त्रालयका सचिव मणिराम गेलालले भने, ‘हामीले तुइनलाई विस्थापित गर्ने अभियान नै चलाएका छौं । सिमा नदीमा झोलुंगे पुल बनाउन भारतको सहमति चाहिन्छ । त्योे सहमति लिने प्रक्रिया सरल र सहज होस् भनेर हामीले कुराहरु राख्यौं । उहाँहरु त्यसमा सकारात्मक हुनुभयो ।’

विदेश सचिव मिश्रीले नेपालको शान्ति, स्थायित्व र समृद्धिका लागि भारतको सधैँ साथ सहयोग रहने बताए ।

 

प्रतिक्रिया दिनुहोस