गृहमन्त्री लेखकसँग भारतीय विदेश सचिवले गरे भेट

सफल खबर संवाददाता

सोमबार, २८ साउन २०८१, १४ : ०२
गृहमन्त्री लेखकसँग भारतीय विदेश सचिवले गरे भेट

काठमाडौँ । गृहमन्त्री रमेश लेखकसँग नेपाल भ्रमणमा रहेका भारतीय विदेश सचिव विक्रम मिस्रीले भेटवार्ता गरेका छन् । सिंहदरबारस्थित गृह मन्त्रालयमा आज भएकोउक्त भेटवार्तामा उनीहरुबीच द्विपक्षीय हित र चासोका विषयमा छलफल भएको गृहमन्त्रीको सचिवालयले जनाएको छ ।

भेटमा गृहमन्त्री लेखकले नेपाल र भारतबीच सौहार्दपूर्ण सम्बन्ध रहीआएको उल्लेख गर्दै विदेश सचिव मिस्रीको कार्यकालमा यो सम्बन्ध थप विस्तार र सुदृढ हुनेमा आफू विश्वस्त रहेको बताए ।

भारत नेपालको सुरक्षा, पूर्वाधार, उर्जा, जलश्रोतलगायतका क्षेत्रमा महत्वपूर्ण विकास साझेदार रहेको उल्लेख गर्दै उनले भारतले नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको क्षमता अभिवृद्धिसहित नेपालको पूर्वाधार निर्माणमा पुर्‍याएको सहयोगका लागि विदेश सचिव मिस्रीलाई धन्यवाद दिए । सो अवसरमा गृहमन्त्री लेखकले नेपालको भूमि आफ्ना छिमेकी राष्ट्रहरुका विरुद्ध प्रयोग हुन नदिने प्रतिवद्धता व्यक्त गरे ।

गृहमन्त्री लेखकले नेपालमा भारत सरकारबाट भएको लगानीको पूर्ण सुरक्षा प्रत्याभूति हुने जनाउँदै सीमाक्षेत्रमा देखिने गरेको अपराध र लागूऔषध अवैध कारोबार नियन्त्रणका लागि आपसी समन्वय र सहकार्य बढाउनुपर्ने विषयमा विशेष जोड दिएको उनको सचिवालयले जनाएको छ ।