नेपाल र भियतनामबीच चार्टर उडान हुँदै, १ लाख ९ हजारमा ५ दिनको टुर प्याकेज

सफल खबर संवाददाता

आइतबार, २७ साउन २०८१, १६ : ४१
नेपाल र भियतनामबीच चार्टर उडान हुँदै, १ लाख ९ हजारमा ५ दिनको टुर प्याकेज

काठमाडौं। नेपाल र भियतनामबीच पर्यटक आदानप्रदान गर्न थप दुई वटा चार्टर उडान हुने भएको छ ।काठमाडौंको हात्तीसारमा रहेको रुप्से होलिडेज परिवारले आगामी असोज ३० गते चार्टर उडान गर्न लागेको हो । नेपाल र भियतनामबीच पर्यटक आदानप्रदान गर्न यसअघि पनि चार्टर उडान गरिएको थियो ।

‘आगामी दशैंको टिकालगत्तै असोज ३० गते अर्थात् अक्टोबर १६ बाट ५ दिनका लागि नेपालबाट भियतनाम र भियतनामबाट नेपाल पर्यटक आदानप्रदान गर्न चार्टर उडान गर्न लागिएको छ,’ रुप्से होलिडेजका प्रबन्ध निर्देशक रमेश पराजुलीले भने ।

 

 

नेपाल र भियतनामबीच सिधा उडान नभएकाले चार्टर उडानमार्फत भ्रमण गराउन लागिएको रुप्से होलिडेजले जनाएको छ ।भियतनाम भ्रमणका लागि सबै शुल्क जोडेर १ लाख ९ हजार ९९९ रुपैयाँको प्याकेज सार्वजनिक गरेको पराजुलीले बताए ।

‘उक्त मूल्यमा भियतनामको दुईतर्फी हवाई टिकट, भिसा लेटर, एयरपोर्टबाट पिकअप तथा ड्रप, ब्रेकफास्टसहित होटलको कोठा, स्थानीय टुरका लागि हुने खर्च, गाइड तथा यातायातको खर्च समावेश गरिएको छ,’ आइतबार प्रकाशित विज्ञप्तिमा उल्लेख गरिएको छ ।

 

 

भियतनाम टुरका क्रममा नेपाली पर्यटकलाई राजधानी हानोई आसपासका विभिन्न पर्यटकीय गन्तव्यहरूमा घुमाइने रुप्से होलिडेजले जनाएको छ ।भियतनाम जाने यात्रुलाई पहिलो दिन हानोईमा थ्री स्टार होटलमा राखिने र दोस्रो दिन उत्कृष्ट पर्यटकीय गन्तव्य ‘निन बिन टाप’मा भ्रमण गराइने विज्ञप्तिमा उल्लेख छ । 

भ्रमणको तेस्रो दिन अर्को गन्तव्य ‘हा लोङ बे’मा क्रुज सफारी हुनेछ भने चौथो दिन ‘ट्रेन स्ट्रिट भिजिट’ र हानोईको सिटी टुर गराइने रुप्सेले जनाएको छ । १ लाख ९ हजार ९९९ रुपैयाँको टुर प्याकेज भए पनि एकैपटक सबै रकम तिर्न नसक्ने पर्यटकका लागि मासिक ५ हजारको किस्ताबन्दीमा पनि घुम्न पाइने व्यवस्था गरिएको पराजुलीले बताए।​

 

चार्टर उडानमार्फत नेपाल आउने पर्यटकलाई भक्तपुर, नगरकोट, काठमाडौं दरबार स्क्वायर, पाटन दरबार स्क्वायर, स्वयम्भू र बौद्धनाथको दर्शन गराउने गरी कार्यक्रम तय भएको छ । दशैं–तिहारको समयमा नेपालीहरू घुम्नका लागि विदेश जाने प्रचलन पछिल्ला वर्षमा बढेको छ ।

प्रतिक्रिया दिनुहोस