रौतहटमा विपद‍्को घटना: १ वर्षमा ३८ को मृत्यु, १ बेपत्ता

सफल खबर संवाददाता

आइतबार, २७ साउन २०८१, १५ : २७
रौतहटमा विपद‍्को घटना: १ वर्षमा ३८ को मृत्यु, १ बेपत्ता

रौतहट । रौतहटमा विपद‍्को घटनामा परेर १ वर्षमा ३८ जना मानिसको मृत्यु हुनुका साथै १ बेपत्ता र ५० भन्दा बढी घाइते  भएका छन् ।  साथै करोडौँको क्षति भएको छ।गत आर्थिक वर्ष २०८०!०८१ मा विपद्जन्य घटनामा परेर ३८ जनाको ज्यान जानुका साथै करोडौँको क्षति भएको हो।

एक वर्षमा सब भन्दा बढी मानिसको पोखरीमा डुबेर मृत्यु भएको छ। पोखरीमा डुबेको ३७ वटा घटनामा महिला, पुरुष बालबालिका गरी २२ जनाको मृत्यु र ८ जना घाइते भएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी एलिजा गिरीले बताइन्।

त्यस्तै २१९ वटा आगलागीको घटनामा परेर ४ जना मानिसको मृत्यु हुनुका साथै १८ जना मानिस घाइते भएका थिए। आगलागीमा परेर सोही अवधिमा ८७ चौपायाको मृत्यु र २२ चौपाया घाइते भएका थिए। आगलागी बाट १४ पक्की घर,९१ कच्ची घर,११ सार्वजनिक घर,१० गोठ र घरभित्र रहेको अन्नपात, लत्ताकपडा तथा घर गरी कुल १४ करोड,४१ लाख,१२ हजार,२३२ रुपैयाँ बराबरको क्षति भएको प्रहरीको तथ्याङ्कमा उल्लेख गरिएको छ।

त्यसैगरी अविरल वर्षा सँगै १४ वटा विभिन्न नदी खोलामा आएको बाढीमा परी २ जनाको मृत्यु १ बेपत्ता,३३ घरमा प्रभाव गरी कुल १० लाख २५ हजार बराबरको क्षति भएको थियो। गत आर्थिक वर्षमा ३५ वटा करेन्ट लागेको घटनामा परेर ४ जनाको मृत्यु हुनुका साथै २१ जना मानिस घाइते भएका थिए।

सोही अवधिमा घर पालुवा तथा जङ्गली जनावरको ९ वटा आक्रमणको घटनामा परेर २ जना मानिसको मृत्यु र १४ जना घाइते भएको तथ्याङ्कमा उल्लेख गरिएको छ। त्यस्तै ३ वटा चट्याङको घटनामा २ जनाको मृत्यु १ घाइते र सर्प दंश बाट २ जनाको मृत्यु भएको थियो।

गत आर्थिक वर्षमा कुल ३२५ वटा भएको विपद्‍जन्य घटनाबाट १२ करोड ५७ लाख,८९ हजार,७३२ बराबरको क्षति,२ हजार ७२ परिवार प्रभावित भएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख एसपी दिलीप घिमिरेले बताए ।

उक्त घटनामा राहत तथा उद्धारको लागि ३ हजार २१० प्रहरी जनशक्ति परिचालन गरिएको प्रहरीको तथ्याङ्कमा उल्लेख गरिएको छ। गत आर्थिक वर्षमा  जिल्ला विपद् व्यवस्थापन समिति एवं जिल्ला प्रशासन कार्यालयबाट ४ जना मृतकको परिवार लगायतका गरी कुल ३० लाख रुपैयाँ राहत स्वरुप वितरण गरिएको सिडिओ हिरालाल रेग्मीले जानकारी दिए ।अविरल वर्षासँगै आउने बाढीको समय सचेत रहन तथा बालबालिका लाई निगरानी गर्न प्रहरीले सूचना मार्फत पटक पटक आग्रह गर्दै आएको छ।

प्रतिक्रिया दिनुहोस