रौतहटको धनसर–जंगलसैया–कटहरिया सडक कालोपत्रे

सफल खबर संवाददाता

मंगलबार, ०१ साउन २०८१, १२ : ५६
रौतहटको धनसर–जंगलसैया–कटहरिया सडक कालोपत्रे

रौतहट । रौतहटको धनसर–जंगलसैया–कटहरिया सडक कालोपत्रे भएको छ । रौतहट क्षेत्र नम्बर ३ का सांसद प्रभु साहको ‘सडक बढाओ–सडक बचाओ’ अभियान अन्तरगत सो सडकको मुआब्जा र बजेट विना नै ट्याक खोलिएको थियो ।

१२ मिटर चौडाईको यो सडकको ट्याक २०७५ सालमा खोलिएको हो भने जुन सडक १४ किलोमिटरको रहेको छ । जसमध्ये सर्वसधारणको सहयोगमा १२ किलोमिटर सडकको वन कार्यालयको अनुमति विना नै ट्याक खोल्ने काम भएको थियो । ट्याक खोलेर ग्राभेल गरिएको सो सडक पाँच बर्षपछि संसदीय रणनीतिक सडक योजना अन्तरगत दुई करोड लागतमा कालोपत्रे गरिएको हो ।

धनसर–जंगलसैया सडक हुँदै रौतहटको दक्षिणी क्षेत्रमा रहेको कटहरिया, गरुडा, मौलापुर, गौरका साथै बिभिन्न ठाउँमा आउँजाउँ गर्न सजिलो हुने भएको छ । आम जनता पार्टी (आजपा)का अध्यक्ष समेत रहेका पूर्वमन्त्री साहको पहलमा धनसर–जंगलसैया सडक लगतात रौतहटमा ३ सय किलोमिटर भन्दा बढी सडक मुआब्जा र बजेट बिना नै निर्माण भएको बताइएको छ ।

रौतहटका गौरिशंकर साहले जिल्लामा भएको बिकासलाई सबैले बिना पूर्वाग्रह नमुनाको रूपमा प्रस्तुत गर्नसक्नुपर्ने बताउँछन् । काठमाडौं–तराई मधेस फास्ट ट्याकको निर्माण बर्षौदेखि भईरहेको छ । अर्बौ बजेट सकिसक्यो । कहिले वनको कारण त कहिले अदालतको मुद्धा त कहिले बजेटको अभाव लगायत बिभिन्न कारणले फास्ट ट्याकको काम अझै सम्पन्न भएको छैन् । तर धनसर जंगलसैया सडक बनाउँन बिना बजेट र बिना मुआब्जा सडक निर्माण हुनुले इच्छा शक्ति भए बिकास असम्भव नभएको साहले बताए ।

प्रतिक्रिया दिनुहोस