उद्योगमन्त्री भण्डारीले गरे कोलकत्ता पोर्टको अवलोकन

सफल खबर संवाददाता

आइतबार, २७ साउन २०८१, १४ : २७
उद्योगमन्त्री भण्डारीले गरे कोलकत्ता पोर्टको अवलोकन

काठमाडौं। उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले कोलकत्ता पोर्टको अवलोकन गरेका छन् ।अवलोकनका क्रममा उनले पोर्टका अध्यक्ष रथेन्द्र रमन लगायतका उच्च अधिकारीहरूसँग नेपालको पारवहन व्यापार प्रक्रिया सहजीकरण तथा लागत कम गर्ने विषयमा छलफल गरेका थिए ।

अवलोकन भ्रमणका क्रममा मन्त्री भण्डारीले भूपरिवेष्टित मुलुकले प्राप्त गर्ने व्यापार सौविध्यता, पारवहन व्यापार सबलीकरण, ‘ट्रान्ससिपमेन्ट मोडालिटी’, भण्डारण जाचँपासलगायतका विषयमा जानकारी लिए ।

 

 

नेपालका तर्फबाट पारवहन लागत कम गर्ने विषयमा राखेको मन्त्री भण्डारीले जिज्ञासामा त्यहाँका प्रतिनिधिले चीनबाट हल्दिया र कोलकत्तामा सिधा कार्गो जहाजको व्यवस्था गरिएकाले सिङ्गापुरमा गरिने ट्रान्ससिपमेन्ट लागत कम भई सम्पूर्ण लागत नै घट्ने जानकारी दिएका छन् ।

पारवहन लागतको १० प्रतिशत मात्रै पोर्ट लागत भएकाले थप सहुलियत दिन सकिने पोर्टका अधिकारीहरूले बताएको मन्त्रालयका सहसचिव बाबुराम अधिकारीले जानकारी दिए ।

 

नेपाली महावाणिज्यदूतावास एवं नेपाल पारवहन तथा गोदाम व्यवस्था कम्पनी लिमिटेडको  समन्वयमा छलफल भएको थियो ।अवलोकन भ्रमणमा कोलकत्तास्थित महावाणिज्यदूतावासका पदाधिकारी लगायतको उपस्थिति थियो ।

तेस्रो मुलुकसँगको व्यापारमा देखिएका प्रक्रियागत समस्या, आयात कर्ता र निर्यात कर्ताका समस्याका विषयमा जानकारी लिई कोलकत्तास्थित महावाणिज्यदूतावास तथा गोदाम कम्पनी लिमिटेडलाई सहजीकरण गरी परिणाममुखी भएर काम गर्न मन्त्री भण्डारीले निर्देशन दिए ।

प्रतिक्रिया दिनुहोस