१७ अस्पतालले पठाए ९ बुँदे निर्देशनको प्रगति विवरण

सफल खबर संवाददाता

आइतबार, २७ साउन २०८१, १२ : २३
१७ अस्पतालले पठाए ९ बुँदे निर्देशनको प्रगति विवरण

काठमाडौँ । संघीय सरकार मातहतका अस्पताल सुधार्न गरेको परिपत्र अनुसार १७ अस्पतालले निर्णय कार्यान्वयन थालेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले साउन ४ गते मन्त्रालयका कर्मचारी र अस्पताल प्रमुखसँग ओपिडी सेवा दुई सिफ्टमा चलाउने, औषधि पर्याप्तता, अस्पतालको भिड व्यवस्थापनलगायत ९ बुँदे निर्णय गरेर कार्यान्वयनका लागि परिपत्र गरेको थियो ।

सोही निर्णयअनुसार आफ्नो मातहतका अस्पतालले सेवा प्रभावकारी बनाउन र अस्पतालमा हुने भिडभाडलाई कम गर्न विभिन्न उपाय अपनाउन थालेको मन्त्रालयले जानकारी दिएको हो । पहिलो चरणमा १७ वटा संघीय अस्पतालहरूबाट प्रगति विवरण प्राप्त भएको र बाँकी प्रतिष्ठान तथा अस्पतालबाट पनि विवरण आउने क्रम जारी रहेको जनाएको हो ।

अस्पतालहरूको विवरणमा भिड नियन्त्रण गर्न विस्तारित स्वास्थ्य सेवा, ओपिडी सेवाको समयावधि थप तथा सिफ्ट व्यवस्थापन, चिकित्सक राउन्ड तथा बिरामी भर्ना डिस्चार्ज बीचमा समन्वय, डाक्टरहरूको राउन्डको तालिका तय, डिजिटल प्रणालीहरूको अवलम्बन, अनलाइन दर्ता, भुक्तानी जस्ता कार्यलाई प्राथमिकता दिएको उल्लेख छ ।

मन्त्री प्रदीप पौडेलका अनुसार टेकु अस्पताल, थापाथली अस्पताल, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, भक्तपुर क्यान्सर अस्पताल, भरतपुर अस्पताल, राष्ट्रिय ट्रमा सेन्टर, भेरी अस्पताल, नारायणी अस्पतालले प्रगति विवरण पठाएका छन् ।

त्यस्तै, मोनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टर, कान्ति बाल अस्पताल, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, सुशील कोइराला प्रखर क्यान्सर अस्पताल, जीपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्र, डडेलधुरा अस्पताल, वीर अस्पताल, आयुर्वेद चिकित्सालय र बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालले पनि आफ्नो प्रगति विवरण पठाएका छन् ।

अस्पतालहरूले पठाएका विवरणमा अस्पतालको पूर्वाधार र व्यवस्थापनमा क्रमिक सुधार गर्दै थप काउन्टरहरूको व्यवस्था, शौचालयको सरसफाइ, सफा पिउने पानीको निःशुल्क व्यवस्था प्रयास सुरुआत गरिएको उल्लेख छ ।

त्यस्तै, औषधिहरूको उपलब्धता सुनिश्चित गर्न र बीमा गरिएको बिरामीहरूको लागि फार्मेसी सेवाहरूलाई व्यवस्थित गरिएको अस्पतालले उल्लेख गरेका छन् । बिरामी तथा आगन्तुकका लागि नेभिगेसन र सूचना प्रणाली, सुरक्षित र सफा पिउने पानी, सफा र पहुँचयोग्य शौचालयहरूको व्यवस्था र अस्पताल परिसरको सरसफाइलाई प्राथमिकता दिइएको उनीहरूले जनाएका छन् ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री माननीय प्रदीप पौडेलले सरकारी अस्पतालमा सेवा लिन जाँदा लामो लाइनमा बस्नु परेको, अलमलिनु परेको र झन्झटिलो रहेको गुनासो अन्त्य गर्ने प्रयास थालिएको बताए ।

प्रतिक्रिया दिनुहोस