देशलाई गरिबीबाट मुक्त नपारेसम्म समृद्धि हासिल हुँदैन : प्रधानमन्त्री ओली

सफल खबर संवाददाता

शनिबार, २६ साउन २०८१, १४ : ०६
देशलाई गरिबीबाट मुक्त नपारेसम्म समृद्धि हासिल हुँदैन : प्रधानमन्त्री ओली

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले देशलाई गरिबीबाट मुक्त पार्न नसकिए समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षा पूरा नहुने बताएका छन । ‘लायन्स इन्टरनेशनल डिस्ट्रिक्ट ३२५ के’ को जिल्ला पदस्थापना र प्रथम क्याबिनेटलाई शनिबार सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री ओलीले नेपाललाई अल्पविकसित अवस्थाबाट स्तरोन्नति गराउन रोजगारी, उत्पादन र उद्यमशीलतामा जोड दिँदै आइएको बताए ।

“मुलुकमा अझै पनि २० प्रतिशत नागरिक गरिबीको रेखामुनी छन् । भोका बालबालिकका र मानिसलाई खान लाउने वातावरण दिन सकिएन भने हामीले समृद्ध नेपालको परिकल्पना गर्नुको सार्थकता रहँदैन ।’’, प्रधानमन्त्री ओलीले भने, “हालै संयुक्त राष्ट्रसङ्घका प्रतिनिधिसिँगको भेटमा मैले यो कुरा गरेको थिएँ । आउँदो असोजको पहिलो साता राष्ट्रसङ्घको महासभामा पनि म यिनै विषयलाई महत्त्व दिएर बोल्नेछुु । मानव जगतको सुरक्षा, शान्ति र समृद्धि हाम्रो साझा चिन्ता हो । मानव जगत नै सुरक्षित हुन सकेन भने पृथ्वीको सुरक्षामै खतरा पर्न सक्छ । अशान्ति मच्चिन सक्छ । त्यसैले मानवअधिकारको रक्षा पहिलो दायित्व हो भन्ने भावनाले सबैले काम गर्नुपर्छ ।’’

प्रधानमन्त्री ओलीले आफूले सत्यको बाटोको राजनीति गर्दै आएकाले सत्यसँग नलड्ने र शक्तिसँग नझुुक्ने मान्यताका साथ काम गरिरहेको स्पष्ट गर्दै सत्य र मानवसेवामा लाग्ने लायन्सहरुका साथमा अहिलेको सरकार रहने स्पष्ट गरे ।

प्रतिक्रिया दिनुहोस