प्रधानमन्त्री ओली र राजदूत लोरेञ्जोबिच भेटवार्ता

सफल खबर संवाददाता

बुधबार, २३ साउन २०८१, १४ : १९
प्रधानमन्त्री ओली र राजदूत लोरेञ्जोबिच भेटवार्ता

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपालका लागि युरोपियन युनियनका राजदूत भेरोनिक लोरेञ्जोले आज शिष्टाचार भेट गरेकी छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा प्रधानमन्त्री ओली र राजदूत लोरेञ्जोबिच भेटवार्ता भएको हो ।

भेटमा प्रधानमन्त्री ओलीले नेपालको आर्थिक तथा सामाजिक विकासमा युरोपियन युनियनको सहयोगप्रति प्रशंसा गर्दै शान्ति प्रक्रियाको बाँकी कामका रुपमा रहेको सङ्क्रमणकालीन न्यायसम्बन्धी विषयलाई राजनीतिक सहमतिका आधारमा टुङ्गो लगाउन लागिएको जानकारी गराए ।

प्रधानमन्त्री ओलीले विस्तृत शान्ति सम्झौताको मर्म, सर्वोच्च अदालतका आदेश, अन्तर्राष्ट्रिय अभ्यास र पीडितका विषयलाई केन्द्रमा राखेर बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ लाई संशोधन गर्न बनेको विधेयक अघि बढ्ने प्रक्रियामा रहेको बताए ।

प्रधानमन्त्री ओलीले नेपाल र युनियनबीचको कूटनीतिक सम्बन्धको ५० औँ वर्ष प्रवेशको स्मरण गर्दै नेपाल सन् २०२६ सम्ममा विकासशील र सन् २०३० सम्ममा मध्यम आय भएको मुलुकमा स्तरोन्नति हुने तयारीमा रहेकाले  यसमा विकास साझेदारहरुको सहयोग अपेक्षित भएको बताए ।

प्रधानमन्त्री ओलीले लोकतन्त्र र मानव अधिकारको प्रत्याभूतिप्रति नेपाल सरकार पूर्ण प्रतिबद्ध रही गरिबी निवारण र आर्थिक सामाजिक विकासमा क्रियाशील रहने स्पष्ट पारे। राजदूत लोरेञ्जोले सरकारका प्राथमिकता र लक्ष्यहरु सफलतामा पुगोस् भन्ने कामना गर्दै प्रधानमन्त्री ओलीको कार्यकाल सफलताको कामना गरिन् । 

प्रतिक्रिया दिनुहोस