बङ्गलादेशमा अवामी लिगका २० नेताको शव भेटियो

सफल खबर संवाददाता

बुधबार, २३ साउन २०८१, ११ : ०७
बङ्गलादेशमा अवामी लिगका २० नेताको शव भेटियो

ढाका । बङ्गलादेशमा भड्किएको हिंसा मत्थर हुने सङ्केत छैन । देशभरमा विद्यार्थी आन्दोलनले उग्र रूप लिएपछि दैनिक रूपमा मर्नेको सङ्ख्या बढ्दो छ । यसैबिच पूर्व प्रधानमन्त्री शेख हसिनाको पार्टी अवामी लिगका २० जना नेताको शव फेला परेको छ ।

प्रदर्शनकारीहरूले नेतालाई मार्दा तिनका परिवारका सदस्यहरूको पनि मृत्यु भएको बताइएको छ । प्रधानमन्त्रीले राजीनामा दिएर भारत भागेपछि प्रदर्शनकारीहरूले आफ्नो क्रोध पार्टीका नेता कार्यकर्तामाथि खन्याइरहेका छन् । पार्टीका कयौँ नेता र कार्यकर्ताको घर अनि व्यापारिक सङ्गठनमा तोडफोड र लुटपाटी जारी छ ।

प्रदर्शनकारीहरूले बङ्गलादेशका चर्चित गायक राहुल आनन्दको घरमा आगजनी गरेका छन् । ढाकाको धानमंडीमा रहेको गायकको १४० वर्ष पुरानो घर जलाइएको हो । जलाउनु अघि प्रदर्शनकारीहरूले घरमा लुटपाट गरेका थिए । सत्ता पल्टिएपछि बङ्गलादेशमा हिन्दु अल्पसङ्ख्यकमाथि हिंसा भइरहेको छ । देशको २७ जिल्लामा हिन्दु र हिन्दु मन्दिरमा हमला भएको खबरहरू आइरहेका छन् ।

देश छाडेर भागिरहेछन् हसिनाका मन्त्रीहरू

हसिनाले राजीनामा दिएर विदेश भागेपछि उनका मन्त्रीहरूमा एक खालको त्रास देखिएको छ । पूर्व विदेश मन्त्री हसन महमूद ढाका विमानस्थलबाट पक्राउ परेका छन् । उनी भारत आउन फ्लाइटका लागि विमानस्थल गएका थिए । 

पछिल्लो स्थितिमा हसिनाको अवामी लिग पार्टीका कयौँ शीर्ष नेता र पूर्व क्याबिनेट मन्त्रीले देश छाडेर हिँडिसकेका छन् । आवामी लिगका महासचिव र सडक  परिवहन मन्त्री अब्दुल क्वादर आइतबारै देश छाडेर विदेश पलायन भएका थिए । हसिनाले राजीनामा दिनु अघि नै उनको सरकारमा मन्त्री रहेका अनिसुल हक देश छाडेर अज्ञात स्थलतिर गएका थिए ।

प्रतिक्रिया दिनुहोस