बङ्गलादेशमा सत्ता उलटपुलट अपडेटः रिहा भएका राजनीतिक बन्दीको पर्खाइमा परिवार

सफल खबर संवाददाता

मंगलबार, २२ साउन २०८१, १५ : ४९
बङ्गलादेशमा सत्ता उलटपुलट अपडेटः रिहा भएका राजनीतिक बन्दीको पर्खाइमा परिवार

काठमाडौं। ढाका– बङ्गलादेशमा निवर्तमान प्रधानमन्त्री शेख हसिनाको शासनकालमा गोप्य रूपमा बन्दी बनाइएका राजनीतिक व्यक्तिहरू मङ्गलवार रिहा भएसँगै उनीहरूका परिवारमा खुसीयाली छाएको छ । उनीहरू आफ्ना परिवारका सदस्यलाई स्वागत गर्न प्रतिक्षारत छन् । 

‘हामीलाई जवाफ चाहिन्छ,’ हसिनाको सुरक्षा बलले हिरासतमा लिएका मानिसहरूको रिहाइको माग गर्दै अभियान चलाइरहेको ‘आमाहरूको आह्वान’  समूहकी संयोजक सन्जिदा इस्लाम तुलीले भनिन् ।

अधिकारकर्मीहरूले हसिनाको सुरक्षा बलले विशेषगरी प्रमुख विपक्षी दल बङ्गलादेश नेसनलिस्ट पार्टी (बीएनपी) र देशको सबैभन्दा ठूलो इस्लामवादी पार्टी ’जमात–ए–इस्लामी’का कार्यकर्तासहित लगभग ६०० जनालाई अपहरण गरी बेपत्ता पारेको आरोप लगाएका छन्  ।

 

 

तुलीले बताएअनुसार बन्दी बनाइएकाका कम्तीमा २० परिवार प्रतिक्षामा उत्तरी ढाकामा रहेको सैन्य गुप्तचर बलको भवनबाहिर भेला भएका छन् ।सेना प्रमुख जनरल वाकर–उज–जमानले हसिनाले हप्तौंको विरोध प्रदर्शनपछि राजीनामा दिएको जानकारी दिँदै सोमवार सेनाले अन्तरिम सरकार गठन गर्ने बताएका छन् ।

 

हसिनाको राजीनामाको केही घण्टापछि राष्ट्रपति मोहम्मद साहाबुद्दिन र सेना प्रमुखको भेटवार्तापछि विद्यार्थीहरूको विरोध प्रदर्शनका क्रममा पक्राउ परेका सबैलाई रिहा गर्ने साथै प्रमुख विपक्षी नेता खालिदा जियालाई पनि मुक्त गर्ने निर्णय भएको थियो । 

बीएनपीकी अध्यक्ष ७८ वर्षीय पूर्वप्रधानमन्त्री जियालाई सन् २०१८ मा भ्रष्टाचारको आरोपमा १७ वर्षको जेल सजाय सुनाएपछि नजरबन्दमा राखिएको थियो । विपक्षी कार्यकर्ता तथा वकिल अहमद बिन कासेम पनि मङ्गलवार रिहा भएका हुन् । ‘उहाँलाई मंगलवार बिहान गोप्य नजरबन्दबाट रिहा गरिएको छ,’ आफन्त मासुम खलिलीले बताए । 

हसिनाको सुरक्षा बललाई दशौँ हजार विपक्षी कार्यकर्तालाई गैरकानूनी हिरासतमा राखिएको, सयौँको गैरन्यायिक हत्या गरिएको साथै विपक्षी नेता र समर्थकलाई बेपत्ता पारेको आरोप लगाइएको छ ।

 सन् २००९ मा हसिना सत्तामा आएपछि ६०० भन्दा बढी मानिस बेपत्ता पारिएको जसमध्ये लगभग १००  जना अझैपनि बेपत्ता रहेको ह्युमन राइट्स वाचले गत वर्ष बताएको थियो । हसिनाको सरकारले बेपत्ता र गैरन्यायिक हत्याको आरोप अस्वीकार गर्दै आएको छ  ।