बङ्गलादेशमा विद्यार्थी प्रदर्शनका क्रममा फेरि भड्कियो हिंसा

सफल खबर संवाददाता

विहीबार, १७ साउन २०८१, १० : ५७
बङ्गलादेशमा विद्यार्थी प्रदर्शनका क्रममा फेरि भड्कियो हिंसा

ढाका । बङ्गलादेशमा विद्यार्थीहरूको विरोध प्रदर्शनमा पुनः हिंसा भड्किएको छ । विद्यार्थीहरूले हालै हिंसामा परेका पीडितका लागि न्याय माग्दै प्रदर्शन गरेका थिए । सो क्रममा हिंसा भड्किएको हो ।

उत्तरपूर्वी सहर सिल्हटमा बुधवार प्रदर्शनकारीहरूले एक प्रहरीमाथि आक्रमण गरेपछि प्रहरीले उनीहरूमाथि अश्रु ग्यास प्रहार गरेका थिए । राजधानी ढाकासहित अन्य सहरमा पनि झडपका घटना भएका छन् ।

यो महिनामा सरकारी जागिरमा आरक्षणको विरोधमा भएका देशव्यापी हिंसात्मक विरोध प्रदर्शनमा दुई सयभन्दा बढीको मृत्यु भएको थियो । प्रहरीले झन्डै एक हजारलाई समातेको छ । दक्षिणी सहर बरिसालबाट बीबीसी बंगलालाई पठाइएका तस्बिरहरूमा प्रहरीले प्रदर्शनकारीलाई लाठी प्रहार गरेको देख्न सकिन्छ ।

बुधवार विद्यार्थीहरूले न्यायको लागि प्रदर्शनको आह्वान गरेका थिए । विद्यार्थीहरूको सामूहिक हत्या, आक्रमण, गिरफ्तारी र बेपत्ता पारिएको भन्दै विद्यार्थीहरू विरोधमा प्रदर्शन उत्रिएका छन् ।