झारखण्डमा रेल दुर्घटनाः २ जनाको मृत्यु, २० घाइते

सफल खबर संवाददाता

मंगलबार, १५ साउन २०८१, १५ : ३५
झारखण्डमा रेल दुर्घटनाः २ जनाको मृत्यु, २० घाइते

काठमाडौं। नयाँ दिल्ली– भारतको पूर्वी राज्य झारखण्डमा मङ्गलवार रेल दुर्घटना हुँदा कम्तीमा दुई जनाको मृत्यु हुनुका साथै २० जना घाइते भएको अधिकारीहरूले बताएका छन् । 

दुर्घटना झारखण्डको राजधानी राँचीबाट करिब १२३ किलोमिटरमा रहेको पश्चिम सिंहभूम जिल्लाको चक्रधरपुरको बडाबाम्बु स्टेसननजिकै भएको उनीहरूले जनाएका छन् ।

‘बडाबाम्बुनजिकै हावडा–मुम्बई मेल एक्सप्रेसको रेलका १८ वटा डिब्बा लिकबाट खस्दा भएको दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने २० जना घाइते भएका छन्। एनडीआरएफको टोली घटनास्थलमा खटिरहेको छ र उद्धार कार्य जारी छ,’ दुर्घटनास्थलमा रहेका पश्चिम सिंहभूमका उप–आयुक्त कुलदीप चौधरीले बताए ।

अधिकारीहरूका अनुसार दुर्घटनाग्रस्त रेल हावडाबाट मुम्बईको छत्रपति शिवाजी महाराज टर्मिनसतर्फ जाँदै गरेको थियो  ।

रेलवे अधिकारीहरूले राहत र उद्धार कार्यका लागि कर्मचारीसहित आवश्यक राहत र चिकित्सा उपकरण तुरुन्तै घटनास्थलमा पुर्याएको जनाएका छन् । साथै प्रभावित यात्रुलाई बसमार्फत नजिकैको रेलवे स्टेसनमा लगि बाँकी यात्राका लागि 'विशेष रेल'को व्यवस्था गरिएको उनीहरूले बताएका छन् ।

अधिकारीहरूले रेलको लिकबाट खसेका १८ डिब्बामध्ये १६ वटामा यात्रु सवार रहेको , एउटामा पावर कार र एउटामा प्यान्ट्री कार रहेको जनाएका छन् ।  

हावडा–मुम्बई मेल एक्सप्रेसको रेल लिकबाट खसेपछि छेउमा रहेको मालबहाक रेलसँग ठोक्किदा यो दुर्घटना भएको प्रारम्भिक अनुसन्धानले जनाएको छ । 
 यसैबीच, भारतीय रेलवेले यात्रुलाई सहयोग गर्न हेल्पलाइन नम्बरहरू पनि जारी गरेको छ ।

प्रतिक्रिया दिनुहोस