सत्ताका लागि कम्युनिष्टहरुले राजावादीसँग पनि सहकार्य गर्छन् : उपेन्द्र यादव

सफल खबर संवाददाता

शनिबार, १२ साउन २०८१, १५ : १२
सत्ताका लागि कम्युनिष्टहरुले राजावादीसँग पनि सहकार्य गर्छन् : उपेन्द्र यादव

काठमाडौँ । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले नेपालका कम्युनिस्ट पार्टीहरू सत्ताका लागि कल्पना नै गर्न नसकिने गरी गिर्ने गरेको टिप्पणी गरेका छन् । सत्ता, भत्ता, पैसा र पदलाई साम्यवाद हो भन्ने ठान्ने काम समेत नेपालका कम्युनिस्ट पार्टीका नेताहरूले गरेको उनको जिकिर छ । 

पुष्पलाल स्मृति प्रतिष्ठानले शनिवार काठमाडौँमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै अध्यक्ष यादवले सत्ताका लागि कम्युनिस्टहरू राजावादीसँग पनि सहकार्य गर्ने गरेको बताए । कम्युनिस्ट दर्शन र चिन्तन हराएपछि नेपालका कम्युनिस्ट पार्टीहरूमा अवसरवाद मात्रै बाँकी रहेको उनको भनाई थियो । अध्यक्ष यादवले सही बाटोमा रहेका केही कम्युनिस्ट पार्टीहरूले भने मुलुकमा दुःख पाउनुपरेको बताए ।

उनले भने, ‘अहिलेको कम्युनिस्ट साथीहरू नरिसाउनु होला । अहिलेका कम्युनिस्ट पार्टीका नेताहरूलाई  हेर्छु म उहाँहरूले सत्ता, भत्ता, पैसा, पद नै साम्यवाद हो भन्ने ठान्नुभएको छ । र त्यसको दौडमा यतिसम्म गिर्दछन् कि कल्पना नै गर्न सकिँदैन । त्यो युग अहिले आएको छ । कुनै पनि काम बाँकी नछोड्ने । राजावादीसँग पनि एकता गर्ने, गरेकै हो । के का लागि ? सरकारका लागि । त्यो पनि दुई दिनको सरकारका लागि । राजवादी पनि चलेकै छ, कांग्रेस पनि चलेकै छ । अर्को पनि चलेकै छ । जोसँग पनि चलेकै छ । नेपालका कम्युनिष्टहरुमा को सही हो, को गलत हो ? छुट्ट्याउनै गाह्रो छ । तर जो सही बाटोमा हुनुहुन्छ, उहाँहरूले दुःख पाइराख्नु भएको छ ।’

अध्यक्ष यादवले कम्युनिस्ट पार्टीहरूमा देखिएको अवसर नै समाजवाद निर्माणको लागि बाधकको रूपमा देखिएको दाबी समेत गरे ।