कर्जा नतिर्ने निर्माण व्यवसायीलाई मंसिरसम्म कालोसूचीमा नराखिने

सफल खबर संवाददाता

शुक्रबार, ११ साउन २०८१, १३ : २०
कर्जा नतिर्ने निर्माण व्यवसायीलाई मंसिरसम्म कालोसूचीमा नराखिने

काठमाडौं । राष्ट्र बैंकले निर्माण व्यवसायीलाई २०८१ को मंसिरसम्म तिर्ने गरी पुनर्तालिकीकरण गर्ने भएको छ। राष्ट्र बैंकले निर्माण व्यवसायमा आएको शिथिलतालाई दृष्टिगत गरी सो क्षेत्रको पुनःस्थापनाको लागि ६ वटा व्यवस्था गरेको हो।

निर्माण व्यवसायहरूलाई प्रवाह भएको कर्जाको सावाँब्याज तिर्ने अवधि २०८१ मंसिर मसान्तसम्म थप गर्ने भएको छ। राष्ट्र बैंकले चालू आवको मौद्रिक नीति सार्वजनिक गर्दै उक्त व्यवस्था गरेको हो।

निर्माण व्यवसायलाई यसरी चलायमान गर्ने छ

(क) निर्माण व्यवसायहरूलाई प्रवाह भएको कर्जाको साँवा ब्याज तिर्ने अवधि २०८१ मंसिर मसान्तसम्म थप गर्ने ।

(ख) निर्माण व्यवसायहरूलाई कर्जा सूचनासम्बन्धी अर्को व्यवस्था नभएसम्मको लागि चेक अनादर भएको आधारमा मात्र कालोसूचीमा समावेश नगर्ने ।

(ग) निर्माण व्यवसायको लागि लिइने बैंकिङ सुविधा तथा कर्जाहरूमध्ये वासलात बाहिरको सुविधा उपयोग गर्दा क्रेडिट रेटिङ्ग गर्नुपर्ने व्यवस्थाको सीमा सम्बन्धमा छुट्टै व्यवस्था
गर्ने ।

(घ) निर्माण व्यवसायीहरूको जमानतहरू दाबी भई सृजना भएको कर्जामा आर्थिक वर्ष २०८१÷८२ का लागि ऋण सृजना भएको मितिबाट अन्य कर्जा सरह कर्जा वर्गीकरण र
कर्जा नोक्सानी व्यवस्था कायम गर्ने ।

(ब) जोइन्ट भेन्चर (जेभी) मा संलग्न कुनै पनि जेभी पार्टनर कालोसूचीमा परेको कारण अन्य जेभी पार्टनरको बैंकिङ काम कारबाहीमा असर नपर्ने व्यवस्था मिलाइने ।

(च) नेपाल सरकारबाट निर्माण कार्यको म्याद नवीकरण भएमा बैंक तथा वित्तीय संस्थाबाट प्रदान भएको जमानत समेत नवीकरण हुनसक्ने व्यवस्था मिलाइने ।