अहिलेको सरकारमा भ्रष्टहरुको बाहुल्यता छ : प्रभु साह

सफल खबर संवाददाता

शनिबार, ०५ साउन २०८१, १४ : २१
अहिलेको सरकारमा भ्रष्टहरुको बाहुल्यता छ : प्रभु साह

काठमाडौं । आम जनता पार्टी (आजपा) का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले भ्रष्टाचारीलाई जहाँ देख्यो त्यही जनकारवाही गर्न निर्देशन दिएका छन् । मुलुकमा दिनदिनै भ्रष्टाचार संस्थागत हुदै गएकोले मुलुक समृद्ध हुन नसकेको उनले बताए ।

आजपानिकट आईटी आर्मीको तेस्रो स्थापना दिवसको अवसरमा आज (शनिबार) काठमाडौंमा आयोजित शुभकामना अदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष साहले यस्तो निर्देशन दिएका हुन् । सरकारको मुख्य नेतृत्व नै भ्रष्टाचारमा लागेकोले कुनै पनि सरकारी निकायबाट भ्रष्टाचारीलाई कारवाहीको अपेक्षा गर्नु भनेको “गोरुबाट दुध पाउने कल्पना गरेजस्तै” रहेको उनको टिप्पणी थियो ।

‘देशमा भ्रष्टाचार बढदै गएको कारण मुलुकमा विकास रोकिएको यथार्त हामीसामु छ । नेपालको सम्पत्ति लुटेर दिन दहाडै विदेश लगिँदैछ । भ्रष्टाचारको काण्डैकाण्डले देश बर्वाद हुँदैछ । सरकारी निकाय भ्रष्टाचारीको अगाडि निरीह छ, केही गर्न सकिरहेको छैन् । भ्रष्टाचारीलाई राज्यकै संरक्षण छ’ आजपा अध्यक्ष साहले भने, ‘यस्तो अवस्थामा हामी चुप लागेर बस्न मिल्दैन् । हामीले मुलुकलाई समृद्ध बनाउन र सुशासन कायम गर्नका लागि भ्रष्टाचारीलाई जहाँ देख्यो त्यहीँ जनकारवाही गर्न आवश्यक छ । आईटी आर्मीले त्यो कामको नेतृत्व गरोस् ।’

गिरीबन्दु टी–स्टेटदेखि लिएर ललिता निवा लगायतका ठाउँमा ठूला भनिएकाहरुकै संलग्नतामा भ्रष्टाचार भएको प्रमाणित भइसकेको उनको दाबी छ । त्यस्तालाई कारवाही गर्नुको साटो पुरस्कृत गर्ने अवस्था बनेको उनको टिप्पणी छ । उनले सरकार, अख्तियार दुरुपयोग अनुसन्धानले भ्रष्टाचारीलाई कारवाही गर्न नसकेको बताउँदै अहिले सरकारमै भ्रष्टहरुको बाहुल्यता रहेको दाबी गरे ।

‘अहिले हामी के देखिरहेका छौं की सरकारमै भ्रष्टाचारीहरुको बाहुल्यता रहेको छ, त्यही सरकारले सरुवा, बढुवा, नियुक्ति गर्ने अख्तियारसहितका निकायले समेत भ्रष्टाचारीलाई कारवाही गर्न सकेको छैन्’ साहले भने, ‘भ्रष्टाचार गर्नेहरुले संरक्षण पाईरहेका छन् । राज्यकै संरक्षणमा देश लुटने काम भईरहेको देखिन्छ ।’

विदेश गईरहेका युवालाई नेपालमै रोजगार दिनुको साटो ती सोझासाझा युवाबाट लाखौं रकम लिएर विदेश पठाउने काम सरकारी निकायबाटै भईरहेको आरोप लगाउँदै स्वदेशमै रोजगारी दिनुपर्ने सरकार देशलाई उजाड बनाईरहेको छ । राज्यकै संरक्षणमा मन्त्री, ठुला व्यापारीको संलग्नतामा हुण्डी कारोबारमार्फत अर्बौ रकम विदेश गईरहेको बताउँदै उनले त्यस्तो जघन्य अपराध गर्नेलाई सरकारले किन संरक्षण गरेको ? भन्दै उनले प्रश्न गरे ।

आईटी आर्मीले तेस्रो स्थापना दिवसको अवसरमा आज देशैभरी बिभिन्न रचनात्मक कार्यक्रम गरी मनाउँदैछ । आईटी आर्मीका अध्यक्ष चन्द्रभुषण साहले आईटी आर्मीले भ्रष्टाचार, कुशासन, अनियमितता लगायतको विरोधमा स्थापनाकालदेखि नै विभिन्न कार्यक्रम गर्दै आएको बताए । स्थापना दिवसको अवसरमा काठमाडौंमा रक्तदान कार्यक्रम गर्नुका साथै देशैभरी बिभिन्न कार्यक्रम भईरहेको साहले बताए ।

आईटी आर्मीका उपाध्यक्ष सुमन यादवले आईटी आर्मीको स्थापना दिवसको अवसरमा सातै प्रदेशमा बिभिन्न कार्यक्रम भईरहेको बताईन् । वृक्षारोपण, रंगोली बनाउँदै दिपप्रज्वलनलगायतका बिभिन्न कार्यक्रम गर्दै स्थापना दिवश मनाउन लागिएको यादवले बताईन् । 

प्रतिक्रिया दिनुहोस