उच्च अदालत विराटनगरद्वारा १४ हजारभन्दा बढी मुद्दा फछर्यौट

सफल खबर संवाददाता

विहीबार, ०३ साउन २०८१, १४ : ४३
उच्च अदालत विराटनगरद्वारा १४ हजारभन्दा बढी मुद्दा फछर्यौट

दाङ। उच्च अदालत विराटनगरले विगत पाँच वर्षको अवधिमा १४ हजार एक सय दुई मुद्दा फछर्यौट गरेको छ । चौथो पञ्चवर्षीय रणनीतिक योजनाअनुसार विगत पाँच वर्षको अवधिमा २६ हजार ३० मुद्दामध्ये ४५ दशमलव ८२ प्रतिशत मुद्दा  फछर्यौट गरिएको उच्च अदालत विराटनगरका रजिष्ट्रार जगदीशप्रसाद भट्टले जानकारी दिए ।

आर्थिक वर्ष २०७६–७७ देखि  २०८०–८१ सम्ममा  जिम्मेवारी सरी आएका नौ हजार ६८७ तथा सोही अवधिमा नयाँ दर्ता १६ हजार तीन सय ४३ मुद्दा फछर्यौट भएकोमा एघार हजार नौ सय २८ मुद्दा बाँकी रहेका छन् । उक्त अवधिमा दुई वर्षे पुरानो मुद्दा १२ बाँकी रहेका छन् ।

यसैगरी अदालतले गत आर्थिक वर्ष २०८०–८१ मा तीन हजार आठ सय ८० मुद्दा फछर्यौट गर्ने लक्ष्य राखेकाेमा तीन हजार दुई सय ५४ मुद्दा फछर्यौट भएका थिए ।

सो आवमा जिम्मेवारी सरी आएका दुई हजार ५४४ र नयाँ दर्ता तीन हजार ४२२ गरी जम्मा पाँच हजार ९६६ मध्ये तीन हजार २५४ मुद्दा फछर्यौट भएका उच्च अदालत विराटनगरका मुख्य न्यायाधीश रमेशप्रसाद राजभण्डारीले जानकारी दिए । उनले १२ न्यायाधीशको दरबन्दी भए पनि कार्यरत न्यून भएका कारण मुद्दा फछर्यौटको सङ्ख्यामा कमी आएको बताए ।

अदालतमा मुद्दाको चापका कारण बिहान १० बजेदेखि साँझ ८ बजेसम्म न्याय सम्पादनका लागि न्यायाधीशहरू  खटिने गरेका मुख्य न्यायाधीश राजभण्डारीले जानकारी दिए। न्याय सुशासनलाई प्रमुख प्राथमिकतामा राखेको उनको भनाइ छ । 

 

 

 

 

 

 

प्रतिक्रिया दिनुहोस