धुलिखेल–साँगा सडकः पुलबजार क्षेत्रमा डेढ महिनादेखि काम ठप्प

सफल खबर संवाददाता

बुधबार, १० बैशाख २०८२, १४ : १०
धुलिखेल–साँगा सडकः पुलबजार क्षेत्रमा डेढ महिनादेखि काम ठप्प

काभ्रेपलाञ्चोक। स्तरोन्नति भइरहेको अरनिको राजमार्ग अन्तर्गत साँगा–धुलिखेल सडकखण्डको पुलबजार क्षेत्रमा स्थानीयको अवरोधका कारण काम ठप्प अवस्थामा छ ।डेढ महिनादेखि उक्त क्षेत्रको करिब २०० मिटर क्षेत्रमा विस्तार रोकिएको सडक विभागको सूर्यविनायक–धुलिखेल, धुलिखेल–सिन्धुली–बर्दिबास सडक आयोजनाले जनाएको छ । 

निर्माणाधीन सडकखण्डको पुलबजार क्षेत्रमा ‘सेन्टर लाइन’को विषयलाई लिएर स्थानीयले अवरोध जनाएपछि डेढ महिनादेखि विस्तार रोकिएको हो । सेन्टर लाइनबाट दायाँबायाँ ७५/७५ फिट (१५० फिट)मध्ये पनि १४० फिटमा काम भइरहेकोमा स्थानीयले दुवैतर्फका घरमा बराबर छुट्याउनुपर्ने माग गर्दै निर्माण अवरुद्ध पारेको जनाइएको छ ।  

‘हामीले सडकको डिजाइनअनुसार नै सडकको बीचबाट बराबर छुट्याउने हो, स्थानीयले घरको दूरीमा बराबर गर्नुपर्छ भन्दै विवाद सिर्जना गरेपछि निर्माण कार्य रोकिएको हो’, आयोजनाका इञ्जिनियर विष्णु खनालले भने । 

उनका अनुसार यसअघि विभिन्न निकायको समन्वयमा अवरोध हटाउन प्रयास गरिए पनि मंगलबार बनेपा नगरपालिकाका जनप्रतिनिधि र स्थानीयबीचको छलफल पनि विनानिष्कर्ष टुङ्गिएको हो।     
     
पुलबजार क्षेत्रमा अवरोधका कारण बनेपाको मुख्य सहर क्षेत्रमा समेत निर्माण रोकिएको हो । इञ्जिनियर खनालका अनुसार सहरको पूर्वीतर्फको चण्डेश्वरी खोलादेखि बनेपा चारदोबाटोसम्म करिब एक किमी सडकको डल निर्माण भइरहे पनि अन्य कार्य ठम्म नै रहेको छ । 

पुलबजार क्षेत्रको अवरोध तत्काल हटाएर विस्तार कार्यलाई अघि नबढाइए वर्षाअघि कामले निरन्तरता नपाउने खनालको भनाइ छ । अन्य स्थानमा भने काम तीव्र रूपमा नै भइरहेको उनले बताए । उनका अनुसार धुलिखेल क्षेत्रमा कामले गति लिइरहेकाले हाल एक किमी क्षेत्रमा वाल, ड्रेन, पेवमेन्टको काम सकेर केही दिनमै सडक कालोपत्रको तयारी भइरहेको छ ।  

पुलबजार क्षेत्रमा भने स्थानीयको अवरोधसँगै मापदण्डभित्रका घरटहरा हटाउनुपर्ने, बिजुलीको पोल विस्तार, अप्टिकल फाइबर, हाइटेन्सनका पोलहटाउनुपर्ने काम रोकिएको जनाइएको छ । आयोजनाका अनुसार साँगा–धुलिखेल सडकखण्ड अन्तर्गत नासिकास्थानमा दुई, भैंसीपाटीमा तीन, जनागालमा दुई, बुडोलमा एक र २८ किलोमा एक गरी नौ वटा घर–टहरा हटाउनुपर्नेछ । 

यस्तै, बिजुलीको पोल सार्ने काम ७० प्रतिशत, तथा एक ठाउँमा हाइटेन्सनको पोल सार्नुपर्ने काम बाँकी रहेको छ । आयोजनाले पछिल्लोपटक गत चैत २७ गते एक सार्वजनिक सूचनामार्फत् विस्तार भइरहेको सूर्यविनायक–धुलिखेल सडकखण्डको मापदण्डभित्र पर्ने घर–टहरा तथा अन्य संरचना भत्काइदिन अनुरोध गरेको छ । 

यसअघि २८ किलो, बुडोल, बनेपा र पुलबजार क्षेत्रमा भने स्थानीयको पटकपटकको अवरोधले घर–टहरा हटाउनुपर्नेलगायतका विविध समस्या देखिएको थियो ।     यसैबीच, अरनिको राजमार्ग अन्तर्गत भक्तपुरको सूर्यविनायकदेखि काभ्रेको धुलिखेलसम्मको सडक छ लेनमा विस्तारको काम समयमै नसकिने भएको छ । 

आयोजनाले बाँकी करिब आठ महिनाको अवधिमा विस्तारको काम नसकिने जनाएको हो । विसं २०७९ पुस २४ बाट शुरू गरिएको १६ किमि लम्बाइको यस सडक ३६ महिनाभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको थियो । 

उक्त सडकखण्ड सूर्यविनायकबाट साँगासम्म र साँगाबाट धुलिखेलसम्म गरी दुई खण्डमा विभाजन गरी सोहीअनुसार ठेक्का सम्झौता भई विस्तार भइरहेको छ । हाल दुई खण्डको विस्तारको काम ४५ प्रतिशतको हाराहारीमा काम भएको आयोजनाले जनाएको हो ।     

प्रतिक्रिया दिनुहोस