भुटानी शरणार्थी प्रकरण लगायतका माफिया शक्तिले दुई दल मिलाए : प्रधानमन्त्री प्रचण्ड

सफल खबर संवाददाता

शुक्रबार, २८ असार २०८१, १३ : १५
भुटानी शरणार्थी प्रकरण लगायतका माफिया शक्तिले दुई दल मिलाए : प्रधानमन्त्री प्रचण्ड

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले देशका माफिया शक्तिले एमाले र कांग्रेसलाई मिलाउन सफल भएको बताएका छन् । शुक्रबार प्रतिनिधि सभा बैठकमा विश्वासको मत लिने क्रममा उनले सरकारको सुशासनबाट आत्तिएको समूहले दुई दल मिलाएको दाबी गरेका हुन् ।उनले भने–‘हिजो कानुन माथि नै शासन गरिरहेको वर्ग सरकारसँग डरायो । त्रिभुवन विश्वविद्यालयको जग्गा खोज्न थालियो एउटा समूह डरायो ।

ललिता निवासको विस्तृत अनुसन्धान र जग्गा फिर्तीको प्रक्रिया सुरु भयो, अर्को समूह डरायो, भुटानी शरणार्थीको निष्पक्ष अनुसन्धान सुरु भयो अर्को ठुलै समूह डरायो ।

बाँसबारी देखि बालमन्दिर सम्मका जग्गा खोजी हुन थालेपछि यो देशको शक्ति सन्तुलन नै खल्बलिन थाल्यो । त्यही वर्गले देशको पहिलो र दोस्रो दल मिलायो । तपाईँहरूलाई अनौठो लाग्ला त्यो समूहले आफ्नो शक्ति देखायो ।

सरकारको सफलता नै सरकार ढाल्ने पूर्ण आधार बन्न गएको बताउँदै उनले समाजवाद उन्मुख राष्ट्र निर्माणको सङ्कल्प गरेपनि व्यवहारमा त्यो नभएको बताए ।उनले भने–‘देशमा भिआइपी वर्ग सुरु भयो । एउटा वर्गले सरकारी जग्गा लुटेपनि हुने भयो । तस्करी गरेपनि हुने भयो । कानुन मिचेपनि हुने भयो ।

यसले आम जनतामा घृणा र आक्रोश बढाएर लोकतन्त्रमाथि नै प्रश्न उठ्ने अवस्था सिर्जना हुँदै गयो । त्यो वर्ग यति शक्तिशाली भइसकेको थियो कि त्यसलाई दण्डित गर्ने त परको कुरा प्रश्न गर्ने हैसियत पनि धेरै राजनीतिज्ञहरूले गुमाएको स्थिति देशमा देखा पर्ने अवस्था बन्न गयो ।

म नेपाली जनतालाई बुझिने गरी भन्न चाहन्छु, सरकार नै ढल्ने आज जुन परिस्थिति बन्दै छ, त्यो सरकारले कानुनको पालना गराउने, विधिको शासन सुरु गर्ने, सुशासनमा सम्झौता नगर्ने अठोट र कारणले बन्न गयो ।’प्रधानमन्त्री प्रचण्डले अब जनता जाग्नुपर्ने र आफ्नो शक्ति देखाउने बेला आएको बताए । जनता नजागे अब देश माफियाको हातमा जाने अवस्था रहेको बताए ।

प्रतिक्रिया दिनुहोस