परराष्ट्र सचिव भारत जाँदै

सफल खबर संवाददाता

बुधबार, २६ असार २०८१, १४ : ३२
परराष्ट्र सचिव भारत जाँदै

काठमाडौँ । परराष्ट्र मन्त्रालयका सचिवालय सेवा लम्साल आज भारत जाने भएकी छन् । भोलिदेखि सुरु हुने दोस्रो बिमस्टेक विदेशमन्त्रीहरुको निर्धारित रिट्रिटमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै उनी त्यता जान लागेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

कार्यक्रममा उपप्रधानमन्त्री समेत रहेका परराष्ट्र मन्त्री नारायणकाजी श्रेष्ठ जाने कार्यक्रम तय भएको थियो । तर राजनीतिक परिस्थितिका कारण उनले आफैँ नगएर सचिवलाई पठाएका हुन् ।  उनको सचिवालयका अनुसार असार २८ गते प्रधानमन्त्रीले विश्वासका मत लिने कार्यक्रम रहेकाले मन्त्री श्रेष्ठ भारत नगएका हुन् ।

कार्यक्रममा बिमस्टेकभित्र पारस्परिक हितका विषयमा सहमति भएका क्षेत्रमा क्षेत्रीय सहयोग र साझेदारीलाई थप सुदृढ बनाउन छलफल हुने बताइएको छ ।यसअघि भारतमै बिमस्टेक सम्मेलन भएको थियो ।

असार २८ गते सकिने सो कार्यक्रमपछि बिमस्टेक सदस्य राष्ट्रका विदेशमन्त्री तथा प्रतिनिधिमण्डलका प्रमुखहरूले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग संयुक्त भेटवार्ता गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । परराष्ट्र सचिव लम्साल असार २९ गते फर्किने कार्यक्रम रहेको छ । 

प्रतिक्रिया दिनुहोस