सहकारीलाई व्यवस्थित गर्न नियमनकारी निकाय बनाउन गभर्नर अधिकारीको सुझाव

सफल खबर संवाददाता

सोमबार, २४ असार २०८१, १६ : ४३
सहकारीलाई व्यवस्थित गर्न नियमनकारी निकाय बनाउन गभर्नर अधिकारीको सुझाव

काठमाडौँ । सहकारी छानबिन संसदीय विशेष समितिले बैंकिङ क्षेत्रका विज्ञहरूसँग छलफल गरेको छ । सोमबार सिंहदरवारमा बसेको बैठकले गभर्नर महाप्रसाद अधिकारी, बैंकर्स संघका अध्यक्ष सुनिल केसी, कर्जा सूचना केन्द्रका अध्यक्ष गुणाकर भट्ट लगायतसँग छलफल गरेको थियो ।

बैठकमा सहभागी बैंकिङ विज्ञहरूले नियमनलाई महत्त्व नदिँदा सहकारीमा समस्या देखिएको धारणा राखे । सहकारीका समस्या समाधानका लागि नियामकीय निकाय बनाउनु पर्ने र एउटै कर्जा सूचना केन्द्र आवश्यक भएको सुझाव दिएका छन् ।

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले असीमित बचत संकलन गर्न दिँदा सहकारी क्षेत्रमा समस्या आएको बताए । अधिकारीले भूगोलको सीमा नराखिएको, नियमनकारी निकायको प्रभावकारी उपस्थिति नभएको, सुपरीवेक्षण हुन नसकेको जस्ता कारणले गर्दा सहकारीमा आजको अवस्था देखा परेको बताए ।

गभर्नर अधिकारीले सहकारीका समस्या समाधानका लागि ‘सेकेन्ड टायर इन्स्टिट्युसन’ बलियो नियामकीय निकाय बनाइनुपर्ने उल्लेख गरे ।

प्रतिक्रिया दिनुहोस