पपुवा न्यू गिनीका मन्त्री अस्ट्रेलियामा पक्राउ

सफल खबर संवाददाता

आइतबार, २३ असार २०८१, १६ : २५
पपुवा न्यू गिनीका मन्त्री अस्ट्रेलियामा पक्राउ

काठमाडौं। सिड्नी–पपुवा न्यू गिनीका पेट्रोलियम मन्त्री जिमी मालादिनालाई अस्ट्रेलियाको सिड्नीमा घरेलुहिंसाको आरोपमा पक्राउ गरिएको छ ।पूर्वी सिड्नीको उपनगर बोन्डीमा पक्राउ परेका मन्त्रीलाई घरेलुहिंसाको अभियोग लगाइएको अस्ट्रेलियन ब्रोडकास्टिङ कर्पोरेसन (एबीसी)ले आइतबार समाचारमा उल्लेख गरेको छ । 

स्थानीय समयअनुसार शनिबार बिहान करिब १० बजे घरेलु विवादपछि प्रहरीलाई बोन्डीस्थित एक घरमा बोलाइएको थियो ।आरोपित ५८ वर्षीय पुरुषसँग भएको विवादपछि ३१ वर्षीया एक महिलालाई चोट लागेको भन्दै प्रहरीमा परेको उजुरीका आधारमा अधिकारीले ती महिलासँग कुराकानी गरेका थिए । 

महिलासँगको कुराकानीपछि मालादिनालाई गिरफ्तार गरिएको थियो र प्रहरी चौकीमा लगिएको थियो । उनी विरुद्ध ‘शारीरिक क्षति पुर्याएको’ आरोपबारे अनुसन्धान भइरहेको छ । 

एबीसीले मालादिनाको बयानलाई उद्धृत गर्दै भनेको छ, ‘उनले अनुसन्धानमा सहभागी भएर अधिकारीहरूलाई पूर्ण सहयोग गरिरहेका छन् ।’ मन्त्रीलाई सशर्त जमानत दिइएको र बिहीबार अदालत उपस्थित गराउने बताइएको छ । 

प्रतिक्रिया दिनुहोस