नारायणघाटदेखि काठमाडौँसम्म ट्रेलर सहितका ठुला सवारी सञ्चालनमा रोक

सफल खबर संवाददाता

शुक्रबार, १८ असोज २०८१, १५ : ३२
नारायणघाटदेखि काठमाडौँसम्म ट्रेलर सहितका ठुला सवारी सञ्चालनमा रोक

काठमाडौँ । चितवनको नारायणघाटदेखि काठमाडौँसम्म ट्रेलर सहितका ठुला सवारी सञ्चालनमा रोक लगाइएको छ । यातायात व्यवस्था विभागले घटस्थापनादेखि कार्तिक १ गतेसम्म ट्रेलर र अन्य ठुला सवारी साधन सञ्चालनमा रोक लगाउने निर्णय गरेको थियो ।

यात्रुवाहकलाई प्राथमिकता दिनेगरी ठुला सवारी सञ्चालनमा रोक लगाउने निर्णय गरिएको यातायात व्यवस्था विभागका महानिर्देशक राजीव पोखरेलले रातोपाटीलाई बताए । उनले भने, ‘औषधी र तरकारी बोकेका बाहेक अन्य ठुला सवारी कार्तिक १ गतेसम्म बन्द रहन्छन् ।’

विभागको निर्णयअनुसार चितवनको नारायणघाट र सौराहा क्षेत्रमा ट्रेलर सहितका ठुला सवारी साधन रोकिएको राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बागमतीका एसपी नरेश सुवेदीले जानकारी दिए ।

यातायात आवागमन सहज बनाउन भन्दै विभागले खाद्यान्न लगायतका अत्यावश्यक वस्तुहरूको ढुवानी गर्ने बाहेकका ट्रेलर लगायतका ठुला सवारी साधनहरू २०८१ साल आश्विन १७ गते घटस्थापनादेखि कार्तिक १ गते पूर्णिमासम्म रोक्ने निर्णय गरेको थियो ।

आयातित मालवाहक सवारीको हकमा भन्सार, प्रज्ञापनपत्र र निर्यातित मालवाहक सवारीको हकमा नियम राजस्व बुझाएको रसिद हेरेर भन्सार कार्यालयल खुलेको अवस्थामा नरोक्ने निर्णय भएको छ । 

प्रतिक्रिया दिनुहोस