बाढीले बगाउँदा दाङमा एक जना बेपत्ता

सफल खबर संवाददाता

शनिबार, २२ असार २०८१, १५ : ०५
बाढीले बगाउँदा दाङमा एक जना बेपत्ता

काठमाडौं । दाङमा बाढीले बगाउँदा एक जना बेपत्ता भएका छन् । राजपुर गाउँपालिका–२ बेलास्थित राप्ती नदीमा बेपत्ता भएका १८ वर्षका राजकुमार यादवको खोजी भइरहेको सशस्त्र प्रहरी बलका सहायक प्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए ।

दूध बिक्री गरी घर फर्कने क्रममा शनिबार विहान करिब साढे ९ बजे उनलाई राप्ती नदीले बगाएको थियो । सशस्त्र प्रहरी बलले दाङकै लमही नगरपालिका–७ हसनापुरस्थित राप्ती नदीमा पानीको बहाब बढेपछि फसेका दुई जनालाई सकुशल उद्दार गरेको छ ।

दूध बिक्री गरी घर फर्कदै गरेका ४८ वर्षका तुलाराम यादव र ४० वर्षका दयाराम यादव नदीको दोभानमा फसकेका थिए । उनीहरुलाई सशस्त्र प्रहरी बल नेपाल नं. ४१ रिजर्भ गण कपिलवस्तुबाट खटिएको सुरक्षा फौजले सकुशल उद्वार गरेको सहायक प्रवक्ता थापाले जानकारी दिए ।

त्यस्तै दाङको लमही नगरपालिका–६ कुलमोहरस्थित अर्जुन खोलाको किनारमा फसेका ३३ वर्षका गोरे क्षेत्रीलाई पनि सशस्त्र प्रहरीले उद्दार गरेको छ ।

 

प्रतिक्रिया दिनुहोस