पहिरोले तम्घास-रिडी सडक अवरुद्ध

रासस

शनिबार, २२ असार २०८१, १४ : १३
पहिरोले तम्घास-रिडी सडक अवरुद्ध

गुल्मी । अविरल वर्षासँगै गएको पहिरोले गुल्मीको रिडी तम्घास सडक अवरुद्ध भएको छ । जिल्लाको गुल्मीदरबार गाउँपालिका-४ बिरबासस्थित रिडि-तम्घास सडकखण्ड (मदन भण्डारी राजमार्ग ) ढुङ्गा माटोसहितको पहिरोले अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक शंकर पोखरेलले बताए ।

अवरुद्ध बाटोबारे जानकारी र खुलाउन जिल्ला प्रहरी कार्यालय गुल्मीबाट प्रहरी सहायक निरीक्षक नवराज भट्टराईको कमान्डमा टोली खटिएको प्रहरीले जनाएको छ । रिडी तम्घास सडक गुल्मी सदरमुकाम आउने मुख्य सडक हो । यो सडकमा अहिले स्तरोन्नतिसहित निर्माण कार्य हुँदै आएको छ । सडक निर्माणकार्य भइरहेकाले सवारी साधनहरुले जोखिम मोलेर यात्रा गर्नुपर्ने अवस्था रहेको छ ।

त्यस्तै वर्षाले रुरु-४ कालिका मोडस्थित रिडि-तम्घास पक्की सडकखण्डमा पहिरो खस्दा बाटो अवरुद्ध भएको छ ।तम्घास-सिमलटारि सडकखण्डमा पूर्ण रुपमा अवरुद्ध भएको छ । मालिका गाउँपालिका  ७ घमिर खोला  र वडानम्बर ६ फुलबारी खोलामा पानीको वहाब बढ्दा यो सडक अवरुद्ध भएको प्रहरीले जनाएको छ ।

सत्यवति गाउँपालिका-६ उर्लिखोलामा पनि पानीको बहाव बढ्दा सडक अवरुद्ध छ । सत्यवती कै ठुलोलुम्पेकमा पहिरोले एउटा घर पुरेको छ भने रुद्रवेणी वामी सडक खण्ड अवरुद्ध भएको छ ।

चन्द्रकोट गाउँपालिका-८ टेलिमिल र मजुवा बजार खण्डमा पनि सडक अवरुद्ध भएको छ । पानी परिरहेकोले अवरुद्ध सडक खुलाउन समस्या भइरहेको छ । गुल्मीको ग्रामीण क्षेत्रमा विद्युत आपूर्ति पनि बन्द भएको छ ।

प्रतिक्रिया दिनुहोस