परिवारसहित नेपालगन्ज पुगे पूर्वराजा

पत्रपत्रिकाबाट

शुक्रबार, १४ पुस २०७४, ०८ : ५५
परिवारसहित नेपालगन्ज पुगे पूर्वराजा

पश्चिम नेपाल भ्रमणका लागि परिवारसहित नेपालगन्ज आएका पूर्वराजा ज्ञानेन्द्र शाहलाई समर्थक तथा शुभेच्छुकले राँझा विमानस्थलमा भव्य स्वागत गरेका छन् । उनी बिहीबार बेलुकी बुद्ध एयरको उडानबाट नेपालगन्ज आएका हुन् ।

साँझ ५ बजे विमानस्थल आइपुगेका शाहको स्वागतका लागि समर्थक दिउँसो ३ बजदेखि विमानस्थलबाहिर लाम लागेका थिए । उनी पत्नी कोमल र बुहारी हिमानीसँगै नेपालगन्ज आएका हुन् ।

पूर्वराजा शाहलाई समर्थकले फूलमाला लगाएर स्वागत गरे । स्वागतका लागि अधिकांश राप्रपाका जिल्लास्तरका नेता कार्यकर्ता पुष्पगुच्छासहित विमानस्थल पुगेका थिए ।

समर्थकले ‘राजा आऊ देश बचाऊ’ भन्दै नारा लगाउँदा उनी मुसुमुसु हाँसेका थिए । शुभेच्छुकको स्वागत ग्रहणपछि उनी विमानस्थलबाट सीधै भुजइँ गाउँस्थित सोल्टी होटेल गएका थिए ।

हालै मात्र सञ्चालनमा आएको सोल्टी शिवविक्रम होटेल एन्ड रिसोर्टलाई पूर्वराजाले अंग्रेजी नयाँ वर्षको अवसरमा उद्घाटन गर्ने कार्यक्रम छ । सो होटेल ७० करोडको लागतमा निर्माण भएको हो । त्यसलाई काठमाडौंको सोल्टी होटलकै सिरिज बताइएको छ ।

पूर्वराजपरिवारको लगानी रहेको भनिएको सो होटेलमा ८१ कोठा छन् । यो चारतारे होटेल तीन वर्षअघिदेखि निर्माण सुरु भएर भर्खर मात्रै सञ्चालनमा आएको छ ।

पूर्वराजाले भ्रमण अवधिमा आफ्ना समर्थकसँग समेत भेटघाट गर्ने कार्यक्रम छ । उनको स्वागतका लागि गठित मध्य र सुदूरपश्चिम स्वागत मूल समारोह समितिका संयोजक दीपकबहादुर सिंहका अनुसार दुईहप्ते बसाइँमा उनले मध्य र सुदूरपश्चिमका विभिन्न धार्मिक शक्तिपीठको दर्शन गर्ने कार्यक्रम छ । नयाँ पत्रिका

प्रतिक्रिया दिनुहोस