बारबर्दिया नगर अस्पतालले थाल्यो निःशुल्क सर्पदंश उपचार

सफल खबर संवाददाता

शुक्रबार, २१ असार २०८१, १५ : १७
बारबर्दिया नगर अस्पतालले थाल्यो निःशुल्क सर्पदंश उपचार

बर्दिया। बर्दियाको बारबर्दिया नगरपालिकाको नगर अस्पतालमा निःशुल्क सर्पदंश उपचार सेवा शुरू भएको छ । सबै मापदण्ड पूरा गरी अनुमति पाएसँगै उपचार सेवा शुभारम्भ गरिएको हो । 

नगर स्वास्थ्य शाखा प्रमुख गोविन्द पौडेलले अस्पतालमा व्यवस्थापनका सबै तयारी पूरा भएपछि सेवा शुरू गरिएको जानकारी दिए । २४ सै घण्टा निःशुल्क सेवा दिँदै आएको यस अस्पतालमा सर्पदंश उपचार सेवा नहुँदा स्थानीयलाई नेपालगञ्ज पुग्नुपर्ने बाध्यता थियो ।यसले खर्च र बाटोमै ज्यान  गुमाउनुपर्ने जोखिम पनि थियो ।

अस्पताल विकास समितिका अध्यक्ष तीर्थराज पौडेलले सर्पदंश उपचारका लागि चिकित्सक तथा स्वास्थ्यकर्मीलाई तालिमसमेत प्रदान गरिएको बताए ।

'सर्पदंशको उपचार नहुँदा यस क्षेत्रका नागरिकले निकै कठिनाइ भोग्दै आएका थिए । समयमै उपचार नहुँदा ज्यान जाने जोखिम त थियो नै, नेपालगञ्ज जानुपर्ने भएकाले आर्थिक भार पनि उत्तिकै थियो । त्यही समस्या समाधान गर्ने उद्देश्यले सेवा सुरू गरेका छौं,' उनले भने ।

प्रतिक्रिया दिनुहोस