जारी अन्तर्राष्ट्रिय प्रतियोगितामा मेसी र रोनाल्डो गोलविहीन

सफल खबर संवाददाता

बुधबार, १९ असार २०८१, १६ : २१
जारी अन्तर्राष्ट्रिय प्रतियोगितामा मेसी र रोनाल्डो गोलविहीन

काठमाडौं। विश्व फूटबलका सर्वाधिक चर्चित दुई खेलाडी लियोनल मेसी र क्रिस्टियानो रोनाल्डो जारी अन्तर्राष्ट्रिय प्रतियोगितामा गोलविहीन बनेका छन् ।अमेरिकामा जारी कोपा अमेरिकामा अर्जेन्टिनाका कप्तान मेसीले २ खेल खेल्दा कुनै गोल गर्न सकेका छैनन् । यद्यपि उनले एउटा एसिस्ट भने उपलब्ध गराएका छन् ।

उनले क्यानडाविरुद्धको खेलमा लाउटारो मार्टिनेजका लागि एसिस्ट उललब्ध गराएका थिए ।सबै तीनवटै खेल जितेको मेसीको टोली अर्जेन्टिना समूह विजेता बन्दै क्वार्टरफाइनलमा पुगिसकेको छ । उनले पेरूविरुद्धको अन्तिम खेल भने खेलेनन् ।

मेसी समग्र कोपा अमेरिका प्रतियोगितामा एसिस्टकर्ता हुन् । उनले १८ वटा एसिस्ट गरेका छन् । यस्तै १३ गोल उनको नाममा छ ।

 

 

 

 

 

 

यस्तै रोनाल्डो जर्मनीमा जारी युरोकपमा ४ खेल खेल्दा पनि गोलविहीन छन् । उनी अन्तिम १६ को खेलमा स्लोभेनियाविरुद्ध पेनाल्टीमा गोल गर्न चुकेका थिए । यद्यपि रोनाल्डोको नाममा पनि एउटा एसिस्ट छ । उनले टर्किएविरुद्धको खेलमा ब्रुनो फर्नान्डेसका लागि अन्तिम पास मिलाएका थिए । 

रोनाल्डो समग्र युरोकपका सर्वाधिक गोलकर्तासँगै एसिस्ट उपलब्ध गराउने खेलाडी पनि हुन् । उनले युरोकपमा १४ गोल र ८ एसिस्ट गरेका छन् ।जारी प्रतियोगितामा भने रोनाल्डो गोल गर्न सफल भइरहेका छैनन् । उता मेसीको अवस्था पनि उस्तै छ । 

अघिल्लो कोपा अमेरिका र युरोकपमा मेसी र रोनाल्डो दुवै सर्वाधिक गोलकर्ता थिए । अहिले मेसी ३७ र रोनाल्डो ३९ वर्षका भए । यसर्थ अब फूटबलमा उनीहरूको युग सकिँदै गएको विश्लेषण गरिएको छ ।  

प्रतिक्रिया दिनुहोस