बाबुरामको अर्को व्यंग्य– ‘नयाँ बादशाहको झन् नयाँ लुगा’

सफल खबर संवाददाता

बुधबार, १९ असार २०८१, ०८ : ३९
बाबुरामको अर्को व्यंग्य– ‘नयाँ बादशाहको झन् नयाँ लुगा’

काठमाडौ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा माओवादी केन्द्रसँगको गठबन्धन तोड्दै एकाएक प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेससँग सहकार्य गर्ने सहमति गरेपछि पूर्वप्रधानमन्त्री एवं नेपाल समाजवादी पार्टी (नेसपा) का अध्यक्ष डा. बाबुराम भट्टराईले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलक्षित कटाक्ष गरेको गर्‍यै छन्। 

मंगलबार सामाजिक सञ्जाल एक्स (ट्विटर) मा ‘सबैलाई सधैँभरि ठग्न सकिन्न’ भनेर लेखेका डा. भट्टराईले बुधबार बिहान माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री प्रचण्डलाई लक्ष्य गरी अर्काे पोस्ट गरेका छन्।  

जसमा उनले आफ्नो पालाको एसएसली कोर्समा पढाइ हुने ‘सम्राटको नयाँ लुगा’ कथाको ‘बादशाह त नांगै छन्’ सन्दर्भ उल्लेख गरेका छन्। 

‘हाम्रो पुरानो एसएसलसी कोर्समा पढाइ हुने ‘हान्स क्रिस्चियन एन्डरसन’(Hans Christian Andersen) को चर्चित ‘द एम्पिरोर्स न्यू क्लोथ्स’(The Emperor’s New Clothes) (सम्राटको नयाँ लुगा) कथामा अबोध बालकले ‘बादशाह त नांगै छन्’ भनेपछि सबैले सत्यतथ्य बुझेर कथा टुंगिएको थियो’, डा भट्टराईले लेखेका छन्, ‘तर हाम्रो नोपलको वास्तविक जीवनकथामा सबैले नयाँ बादशाहको वास्तविकता बुझेर चिच्याउँदा पनि नयाँ बादशाहमा कुनै चेत नआउला जस्तो पो छ त! कसैले ‘नयाँ बादशाहको झन् नयाँ लुगा’ लेख्ने हो कि?’

सोमबार मध्यराति नेपाली कांग्रेससँग सत्ता सहकार्य गर्ने सहमतिपछि नेकपा एमालेले मंगलबार प्रधानमन्त्री प्रचण्डलाई नयाँ सरकार गठनका लागि बाटो खुला गरिदिन (राजीनामा दिन) आह्वान गर्दै २४ घण्टाको अल्टिमेटम दिइसकेको छ।

तर प्रधानमन्त्री प्रचण्डले तत्काल राजीनामा नदिने र संवैधानिक व्यवस्थाअनुसार ३० दिनभित्र प्रतिनिधि सभामा विश्वासको मत ‘फेस’ गर्ने अडान लिइरहेका छन्। 

सोही प्रसंगमा जनयुद्धकालीन सहयोद्धासमेत रहेका प्रचण्डलाई बाबुरामले व्यंग्य गरेका हुन सक्छन्। 

प्रतिक्रिया दिनुहोस