कांग्रेससँग सत्ता साझेदारीको सहमतिपछि एमालेको सचिवालय बैठक

सफल खबर संवाददाता

मंगलबार, १८ असार २०८१, १६ : २६
कांग्रेससँग सत्ता साझेदारीको सहमतिपछि एमालेको सचिवालय बैठक

काठमाडौं। नेपाली कांग्रेससँग मिलेर सरकार बनाउने सहमति भएपछि अब कसरी अगाडि बढ्ने भन्ने रणनीति बनाउन नेकपा (एमाले)को सचिवालय बैठक बसिरहेको छ । बैठक च्यासलस्थित केन्द्रीय कार्यालयमा मंगलवार दिउँसो बसिरहेको हो । 

सोमवार राति दुई दलबीच एमाले अध्यक्ष केपी शर्मा ओली अबको दुई वर्ष प्रधानमन्त्री बन्ने समझदारी भएको छ । त्यसपछिको डेढ वर्ष कांग्रेस सभापति शेरबहादुर प्रधानमन्त्री बन्ने सहमति भएकाे छ ।

कांग्रेससँग सहमति भए पनि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राजीनामा दिएका छैनन् । यसैले उनको सरकारमा सहभागी भएका आफ्ना मन्त्रीलाई फिर्ता बोलाउने कि प्रधानमन्त्रीको राजीनामा पर्खिने भन्नेबारे निर्णय लिन पनि एमालेको सचिवालय बैठक बसिरहेको हो ।

कांग्रेससँग सहमति भएपछि अध्यक्ष ओलीले मंगलवार बिहान प्रधानमन्त्री प्रचण्डसँग भेट गर्दै अर्को सरकारका लागि मार्गप्रशस्त गरिदिन आग्रह गरेका थिए । तर कांग्रेस र एमालेबीच कुनै लिखित सम्झौता भएको विषय सार्वजनिक नभएपछि प्रधानमन्त्री प्रचण्डले तत्काल राजीनामा दिनेभन्दा संसदमा विश्वासको मतको सामना गर्ने संकेत देखाएका छन् । 

नेकपा (माओवादी केन्द्र)को बैठकले पनि राजीनामा नदिइ विश्वासको मतको सामना गर्नुपर्ने निर्णय गरेको छ । तर दुई ठूला दल मिलिसकेकोले राजीनामा दिनुपर्ने मत पनि माओवादीमा रहेको छ । 

आफू नेतृत्वको सरकारबाट एमाले अपर्झट बाहिरिएर कांग्रेसतिर माेडिएपछि प्रचण्डले ओलीलाई सहजै संविधानको धारा ७६(२) अनुसार प्रधानमन्त्री बन्नबाट रोक्न सकिने विकल्प पनि हेरेका छन् । यसैले उनले राजीनामा दिइहाल्ने मानसिकता नबनाएको नेताहरू बताउँछन् ।

प्रतिक्रिया दिनुहोस