नेकपा एसको महाधिवेशनमा विप्लवदेखि सीकेसम्म अतिथि, एमालेले गर्‍यो बहिष्कार

सफल खबर संवाददाता

आइतबार, १७ असार २०८१, १४ : ५८
नेकपा एसको महाधिवेशनमा विप्लवदेखि सीकेसम्म अतिथि, एमालेले गर्‍यो बहिष्कार

काठमाडौं। नेकपा एमालेबाट विभाजन भइ गठन भएको नेकपा एकीकृत समाजवादी (नेकपा एस)को महाधिवेशन काठमाडौंमा शुरू भएको छ । राजधानीको प्रज्ञा प्रतिष्ठानमा जारी उद्‌घाटन समारोहमा नेकपा एमालेबाहेक अधिकाधिक दलका नेता उपस्थित छन् ।

प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड', कांग्रेस सभापति शेरबहादुर देउवा, रास्वपा सभापति रवि लामिछानेलगायत सहभागी छन् ।यस्तै नेकपाका महासचिव विप्लव, जनता समाजवादी पार्टी नेपालका उपेन्द्र यादव, जनमत पार्टीका डा. सीके राउत, राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी पनि सहभागी छन् ।

कार्यक्रममा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन र नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिदुक्छेलाई पनि आमन्त्रण गरिएको उद्‌घोषक नेकपा एसका महासचिव घनश्याम भुसालले जानकारी दिए ।तर उनले नेकपा एमालेको नामै उच्चारण गरेनन् ।

पार्टी विभाजन भएपछि एमाले र एसका नेताहरूबीच लामो समय बोलचाल समेत बन्द भएको थियो । २०७८ साल मंसिरमा भएको अधिवेशनमा नेकपा एमालेले एसलाई बोलाएको थिएन ।अधिवेशनमा नबोलाए पनि सुदूरपश्चिममा नेकपा एसको सरकारलाई एमालेले समर्थन गरेको थियो ।

प्रतिक्रिया दिनुहोस