जङ्गली च्याउ खाँदा एक सातामा ३ जनाको मृत्यु

सफल खबर संवाददाता

मंगलबार, ११ असार २०८१, १० : ३९
जङ्गली च्याउ खाँदा एक सातामा ३ जनाको मृत्यु

मकवानपुर । मकवानपुरमा जङ्गली च्याउ सेवन गर्दा एक सातामा ३ जनाको मृत्यु भएको छ भने १६ जना बिरामी परेका छन् । जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार गत असार ३ गते देखि १० गते सम्मको अवधिमा जङ्गल च्याउ सेवन गर्दा ३ जनाको मृत्यु भएको हो ।

च्याउ सेवनबाट ८ जना सामान्य बिरामी र ८ जना उपचार पश्चात् डिस्चार्ज भएका छन् । जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक सीताराम रिजालका अनुसार जङ्गली च्याउ सेवन गर्दा गत असार ८ मा कैलाश गाउँपालिका– ८ बस्ने वर्ष ४ का दीपेश लामा, असार ९ गते कैलाश–९ की निरुमाया रुम्बा र राक्सिराङ–७ दुगुवाङ बस्ने बल बहादुर प्रजाको मृत्यु भएको हो ।

गत असार ३ गते राती ७ बजे कैलाश–९ नामटार बस्ने विनोद लामा लगायत परिवारका सदस्यले जङ्गली च्याउ खादा निजको छोरा वर्ष दीपेश लामा बिरामी परेका थिए । च्याउ खाएर बिरामी भएका दीपेशको उपचारको लागि असार ४ गते  हेटौडा अस्पताल ल्याएर सामान्य उपचार पश्चात् थप उपचारको लागी चितवन स्थित चितवन मेडिकल कलेज भरतपुर लगिएको थियो ।

दीपेशको उपचारका क्रममा असार ८ गते साँझ ६ बजे मृत्यु भएको प्रहरी उपरीक्षक रिजालले बताए । दीपेशको अस्पतालबाट घर तर्फ ल्याउने क्रममा मृत्यु भएको उनको भनाई छ ।

त्यस्तै  असार ३ गते राति ७ बजे कैलाश–९ नामटार बस्ने वर्ष २५ की निरुमाया रुम्बाले जङ्गली च्याउ खाई बिरामी भएकी थिइन् । बिरामी अवस्थामा असार ४ गते हेटौडा अस्पताल ल्याएको थियो । हेटौँडा अस्पतालमा सामान्य उपचार पश्चात् उनलाई थप उपचारको लागी राती ११ः५० बजे चितवन स्थित चितवन मेडिकल कलेज पुर्‍याइएको थियो ।

उनको उपचारको क्रममा असार १० गते राती मृत्यु भएको हो । आर्थिक अभावका कार चितवन मेडिकल कलेजमा उपचार गर्न असार ९ गते दिउँसो ३ बजेको रुम्बाको आफन्तले हेटौँडा अस्पताल फिर्ता ल्याएका थिए ।

असर ९ गते बिहान ६ बजे राक्सिराङ- ७ दुगुवाङ बस्ने बल बहादुर प्रजाले जङ्गलबाट ल्याएको जङ्गली च्याउ पकाएर खादा एकै परिवारका ५ जना मानिसहरू बिरामी भएका थिए । च्याउ खाएर बिरामी भएका उनीहरूको उपचारको लागी भरतपुर सरकारी अस्पतालमा पुर्‍याइएको थियो । उपचारको क्रममा राक्सिराङ-७ दुगुवाङ बस्ने वर्ष ५५ को बल बहादुर प्रजाको साँझ ६ः३५ बजेको समयमा मृत्यु भएको थियो । 

च्याउ सेवनबाट १६ जना बिरामी  

राक्सिराङ–७ को घटनामा एकै परिवारका ४ जना घाइते भएका थिए । प्रहरी अनुसार जङ्गली च्याउ खाएर सो घटनामा मृत्यु भएका बल बहादुर प्रजाकी श्रीमती वर्ष ४५ की जालिमाया प्रजा, छोरी वर्ष १५ की रेन्जु प्रजा, छोरी वर्ष ८ सविना प्रजा र छोरा वर्ष १० को सुशल प्रजा बिरामी परेको प्रहरीले जनाएको छ । च्याउ सेवन गरी बिरामी भएका उनीहरूको स्वास्थ्य अवस्था सुधार उन्मुख रहेको छ । उनीहरूको भरतपुर सरकारी अस्पतालमा उपचार भइरहेको छ  । 

त्यस्तै असार ७ गते राती ९ः३० बजे मकवानपुरगढी गाउँपालिका-६ सानुसल्ले र मकवानपुरगढी-५ कालीबन मानिसहरू जङ्गली च्याउ (गोब्रे च्याउ) खाँदा ८ जना बिरामी भएका थिए । च्याउ सेवनबाट मकवानपुरगढी-६ सानुसल्ले बस्ने वर्ष ३२ को सानु कान्छा पाख्रिन, वर्ष २८ कि सुविता पाख्रिन, वर्ष ५ को सुशान्त पाख्रिन, वर्ष ११ कि सोनिया पाख्रिन, वर्ष ४६ को श्याम पाख्रिन, वर्ष ४३ कि एलिजा पाख्रिन बिरामी परेका थिए । 

च्याउ सेवनबाट मकवानपुरगढी–५ कालीबन बस्ने वर्ष २३ को सन्चलाल थिङको छोरा वर्ष ६ को समिर थिङ, वर्ष १२ कि सानुकान्छी भुलुन बिरामी परेका थिए । उनीहरूको हेटौँडा अस्पतालमा उपचार पश्चात् डिस्चार्ज गरिएको छ । 

असार १० गते बिहान ११ बजेको समयमा राक्सिराङ-८ लाचे स्थितमा जंगलबाट ल्याइएको च्याउ खाँदा एकै परिवारका ४ जना बिरामी परेका थिए । च्याउ सेवन गर्दा राक्सिराङ-८  बस्ने वर्ष २१ को भुवल प्रजा, निजको श्रीमती वर्ष २१ की रतिमाँया प्रजा, निजको छोरा वर्ष ३ को समिक प्रजा र निजको भाइ वर्ष १८ को पूर्ण  प्रजा बिरामी परेका छन् । उनीहरूको भरतपुर अस्पतालमा उपचार भइरहेको र अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस