इटालीको तटमा दुईवटा जहाज डुब्दा ११ जनाको मृत्यु, ६० भन्दा बढी बेपत्ता

सफल खबर संवाददाता

मंगलबार, ०४ असार २०८१, १३ : ०५
इटालीको तटमा दुईवटा जहाज डुब्दा ११ जनाको मृत्यु, ६० भन्दा बढी बेपत्ता

इटाली । दक्षिणी इटालीको तटमा दुईवटा जहाज डुब्दा ११ जनाको मृत्यु भएको छ भने ६० भन्दा बढी बेपत्ता भएका छन् । घटनास्थलमा उपस्थित उद्धार टोलीले यस्तो जानकारी दिएको हो ।

त्यस्तै जर्मन परोपकारी संस्था रेस्क्युशिपले सोमबार लाम्पेडुसा टापुमा डुबेका ५१ जनालाई बचाएको बताएको छ । तिनीहरूले काठको डुङ्गा पनि निकाले र त्यसको तल्लो भागमा १० वटा शवहरू फेला पारेका थिए।

चिकित्सा राहत उपलब्ध गराउने स्वतन्त्र अन्तर्राष्ट्रिय संस्था डक्टर्स विदाउट बोर्डर्स (एमएसएफ) ले अर्को यस्तै घटनामा ६० जनाभन्दा बढी बेपत्ता भएको जानकारी दिएको छ। जसमध्ये २६ बालबालिका रहेको आशंका गरिएको छ।

संयुक्त राष्ट्रसङ्घको मानवअधिकार सङ्गठन यूएनएचसीआर, आप्रवासनका लागि अन्तर्राष्ट्रिय संस्था र संयुक्त राष्ट्रसङ्घीय बाल निकाय युनिसेफले एक संयुक्त विज्ञप्तिमा लिबियाको तटबाट निस्किएको यो जहाजमा सिरिया, इजिप्ट, पाकिस्तान र बंगलादेशका मानिसहरू सवार रहेकाे उल्लेख गरेका छन् ।

यसलाई भूमध्यसागर संसारको सबैभन्दा खतरनाक मार्गहरू मध्ये एक मानिन्छ। संयुक्त राष्ट्रसङ्घको तथ्यांकअनुसार सन् २०१४ यता यस रुटमा २३ हजार ५०० व्यक्ति या त मरेका वा बेपत्ता भएका छन् ।

प्रतिक्रिया दिनुहोस