लुम्बिनी बौद्ध विश्वविद्यालयको रजिष्ट्रारमा डा. तिलक आचार्य तेस्रोपटक नियुक्त

सफल खबर संवाददाता

शुक्रबार, ३२ जेठ २०८१, ११ : ५६
लुम्बिनी बौद्ध विश्वविद्यालयको रजिष्ट्रारमा डा. तिलक आचार्य तेस्रोपटक नियुक्त

रूपन्देही । लुम्बिनी बौद्ध विश्वविद्यालयको रजिष्ट्रार पदमा सहप्राध्यापक डा.तिलकराम आचार्य नियुक्त भएका छन् । विश्वविद्यालयले रजिष्ट्रार नियुक्तिका लागि गत चैतमा खुला प्रतिष्पर्धा गराएको थियो ।

खुला प्रतिष्पर्धा गर्दा पहिलो नम्बरमा रहेका आचार्यलाई उपकुलपति प्रा.डा. सुबर्णलाल बज्राचार्यले रजिष्ट्रार नियुक्तिका लागि कुलपति समेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसमक्ष सिफारिस गरेका थिए ।

प्रधानमन्त्री दाहालले आचार्यलाई शुक्रबार विहान नियुक्तिपत्र प्रदान गरे । प्रधानमन्त्री दाहालले बुधबार रजिष्ट्रार नियुक्तिको निर्णय गरेको बताइएको छ । रजिष्ट्रार नियुक्त भएका आचार्यले यसअघि दुई कार्यकाल लुम्बिनी बौद्ध विश्वविद्यालयकै रजिष्ट्रार भई काम सकिसकेका छन् ।

लुम्बिनी बौद्ध विश्वविद्यालयलाई लुम्बिनीमा स्थापित गरी हालको अवस्थामा पुर्‍याउने काममा उनलाई रोलमोडलका रुपमा लिने गरिएको छ । लुम्बिनीका स्थानीय तथा लुम्बिनी बचाउ महाअभियानका संयोजक रामविकास चौधरी आचार्यकै कारण लुम्बिनीमा बौद्ध विश्वविद्यालय स्थापना हुन सकेको बताउँछन् ।

आचार्य पहिलो पटक रजिष्ट्रार भएपछि केन्द्रीय कार्यालय लुम्बिनीमा स्थानान्तरण गरेका थिए । विश्वविद्यालय स्थापनाको १० वर्षसम्म काठमाडौंमा सिमित रहेको थियो । रजिष्ट्रार आचार्यले पहिलो कार्याकालमा विश्वविद्यालयका तीन वटा नियमावलीहरु बनाएका थिए । केन्द्रीय क्याम्पसमा पहिलो पटक कक्षा सञ्चालन, खडैयामा विश्वविद्यालयका लागि जग्गा प्राप्ती, लुम्बिनीमा आठ कोठाको भवन निर्माण तथा पहिलो दीक्षान्त समारोह पहिलो कार्यकालमा उनले सम्पन्न गरेका थिए ।

दोस्रो कार्यकालमा उनी रुपन्देहीको देवदहमा झण्डै एक सय विगाहा जमिन विश्वविद्यालयको भोगाधिकारमा ल्याउन सफल भएका थिए । देवदहमा डिन कार्यालय स्थापना गरी शैक्षिक कार्यक्रम सञ्चालन, बुटवलको नयाँगाउँमा झण्डै ६ बिगाहा जग्गा प्राप्ती र कलेज स्थापना आचार्यले गरेका थिए ।

विश्वविद्यालयका तीन वडा डिन कार्यालयको संरचना निर्माण गरी शैक्षिक कार्यक्रम सञ्चालनमा उनले काम गरेका थिए । लुम्बिनीमा केन्द्रीय पुस्तकालय, केन्द्रीय कार्यालय, बुटवलमा शैक्षिक भवन तथा देवदहमा डिन कार्यालयको भवन निर्माणको काम यो चरणमा सकिएको विश्वविद्यालयले जनाएको छ ।

लुम्बिनी बौद्ध विश्वविद्यालय लगातार तीन आर्थिक वर्षमा बेजुरु फछ्र्योटमा उत्कृष्ट भई पुरस्कृत समेत भएको आचार्य बताउँछन् । आचार्य रजिष्ट्रार बनेपछि नै स्थायी शिक्षक र कर्मचारी नियुक्तिको काम अघि बढेको थियो ।

तेस्रो कार्यकालका लागि नियुक्त आचार्यले विश्वविद्यालयलाई अन्तर्राष्ट्रिय उचाईमा पुर्‍याउने गरी काम गर्ने प्रतिवद्धता जनाए । विकास हुँदै गरेको विश्वविद्यालयका लागि अनुभवी पदाधिकारीको आवश्यक रहने भन्दै उनले आफूले विश्वविद्यालयलाई अझै उचाईमा पु¥याउने बताए । ‘उपकुलपतिज्यूले र मैले विश्वविद्यालयलाई अन्तर्राष्ट्रिय उचाईमा पुर्‍याउने अठोटसहित केही योजना अगाडि बढाएका छौं, ती योजनाहरु कार्यान्वयन प्राथमिकतामा रहनेछ, उनले भने ।

देवदहमा नयाँ परियोजना शुरु गरिएको भन्दै शैक्षिक कार्यक्रमको विस्तार र भौतिक पूर्वाधारका योजनालाई संगसंगै लगिने उनले बताए । उनले तेस्रो कार्यकालका लागि आफूलाई विश्वास गरेकोमा प्रधानमन्त्रीलाई धन्यवाद समेत दिएका छन् ।

रजिष्ट्रार नियुक्तिका लागि गत चैतमा विश्वविद्यालयले खुला प्रतिष्पर्धा गराएको थियो । प्रतिष्पर्धी ९ जनामध्ये आचार्य पहिलो नम्बरमा रहेका थिए । रजिष्ट्रार छनौटका लागि राष्ट्रिय योजना आयोगका सदस्य डा. रमेश पौडेलको अध्यक्षतामा मध्यपश्चिम विश्वविद्यालयका पूर्व उपकुलपति प्रा.डा.उपेन्द्र कोइराला र विद्वान प्रा।डा। पुष्कर बज्राचार्य सदस्य रहेको समिति बनाइएको थियो । सोही समितिले सिफारिस गरेको हो ।

 

 

प्रतिक्रिया दिनुहोस