पहिरोले संखुवासभामा ३ घर बगायो, एकजना घाइते

सफल खबर संवाददाता

विहीबार, ३१ जेठ २०८१, १२ : ५७
पहिरोले संखुवासभामा ३ घर बगायो, एकजना घाइते

संखुवासभा । संखुवासभाको खाँदबारी नगरपालिका-११ आङ्लास्थित कोक्तिमा गाउँमा पहिरोले तीन घर बगाएको छ । गएराति अबिरल वर्षासँगै गएको पहिरोले कोक्तिमा गाउँका तीन घर बगाएको छ भने एकजना घाइते भएका छन् ।a

मणिप्रसाद राई, रामप्रसाद राई र दीलबहादुर राईको घर पहिरोले बगाएको जिल्ला प्रहरी कार्यालयका निमित्त प्रहरी प्रमुख प्रहरी निरीक्षक रामकुमार लामिछानेले जानकारी दिए । पहिरोमा परेर मणिप्रसाद राई घाइते भएका छन् ।

पहिरोले घर बगाएर विस्थापित भएपछि उनीहरू छिमेकीको घरमा आश्रय लिएर बसिरहेका छन् । पहिरोबाट जिल्लाका विभिन्न ठाउँमा ९ घर विस्थापित भएको लामिछानेले बताए ।

खाँदबारी-४ सेकाहाका चार घर पहिरोबाट विस्थापित भएका वडा नम्बर ४ का वडाध्यक्ष विनोद सुब्बा गुरुङले जानकारी दिए । चिचिला गाउँपालिकाको १ र २ का पाँच घर पहिरोको उच्च जोखिममा परेको प्रहरीले जनाएको छ । जिल्लामा बाढी पहिरोले के-कति क्षति भयो भन्ने विवरण संकलन भइरहेको प्रहरी निरीक्षक लामिछानेले बताए ।

पहिरोले उत्तर–दक्षिण कोशी सडकमा समेत क्षति पुगेको छ । कालोपत्र गर्न ठिक्क पारिएको चार किलोमिटर सडकमा क्षति पुगेको उत्तरदक्षिण कोशी सडक आयोजनाले जनाएको छ । यो कोशी राजमार्गअन्तर्गत खाँदबारी किमाथाङ्का सडकखण्डमा पर्दछ ।

निरन्तरको वर्षाका कारण मकालु गाउँपालिकाको नुममा पहिरो गएपछि सडक अवरुद्ध भएको छ । पहिरोका कारण करिब रु एक करोडको क्षति भएको सडक कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस