देउवाले बोलाए कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक

विहीबार, १३ पुस २०७४, १३ : ५०
देउवाले बोलाए कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक

प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापित शेरबहादुर देउवाले नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आव्हान गरेका छन् । भर्खरै सम्पन्न प्रतिनधिसभा र प्रदेशसभा निर्वाचनको परिणाम र वर्तमान राजनीतिक गतिरोधबारे छलफल गर्न देउवाले पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएका हुन् ।

बैठक भोलि (शुक्रबार) बिहान ८ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने तय भएको कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले बताए ।

बैठकमा निर्वाचनको समीक्षासँगै झण्डै दुई महिनाअघि राष्ट्रपति कार्यालय पठाइएको राष्ट्रियसभा गठन अध्यादेशबारे छलफल हुने बताइएको छ । पार्टीले निर्वाचनमा नराम्रो पराजय भोगेपछि आलोचित भइरहेका सभापति देउवाले कार्यसम्पादन समितिको बैठकपछि केन्द्रीय समितिको बैठक बोलाउने तयारी गरेका छन् । कार्यसम्पादनमा नेताहरुको कुरा सुनेपछि त्यसका आधारमा थप रणनीति बनाउँदै केन्द्रीय समितिको बैठक बोलाउने तयारी देउवाको छ ।

निर्वाचनमा अपेक्षाकृत सफलता हासिल नभएपछि कांग्रेसका कतिपय नेताहरुले नेतृत्वको आलोचना गर्दैै केन्द्रीय समितिको बैठक बोलाउन माग गरेका थिए । देउवाले पार्टी सभापतिबाट राजीनामा दिएर यु्वा पुस्तालाई नेतृत्व हस्तान्तरण गर्नुपर्ने बताउँदै आएका उनीहरुले पार्टीको आगामी एजेण्डा र नीतिबारेमा छलफल गर्न महासमितिको समेत बैठक बोलाउनुपर्ने बताइरहेका छन् । कार्यसम्पादन समितिको बैठकले केन्द्रीय समिति बैठक बोलाउने या नवोलाउने भन्ने निर्णय पनि गर्नेछ ।

 

 

 

प्रतिक्रिया दिनुहोस