सूचना र प्रविधिको क्षेत्र धेरै अनियमितता हुने क्षेत्र हो : मन्त्री शर्मा

सफल खबर संवाददाता

मंगलबार, २९ जेठ २०८१, १३ : २०
सूचना र प्रविधिको क्षेत्र धेरै अनियमितता हुने क्षेत्र हो : मन्त्री शर्मा

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सूचना र प्रविधिको क्षेत्र धेरै अनियमितता हुने गरेको स्वीकार गरेकी छन् । मंगलबार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै  उनले यस्तो बताइन् । उनले  सूचना र प्रविधिको क्षेत्र आम जनताले नबुझ्ने क्षेत्र र धेरै अनियमितता हुने क्षेत्र रहेको बताएकी हुन् ।

उनले अनियमिततालाई नियन्त्रण गर्न यस क्षेत्रलाई आम जनताले बुझ्न सक्नुपर्ने बताइन् । यस क्षेत्रको अनियमितताबारे सबैतिरबाट खबरदारी हुन आवश्यक रहेको उनको भनाई थियो ।

उनले भनिन्, ‘यो सूचना र प्रविधिको क्षेत्र भनेको आम जनताले नबुझ्ने क्षेत्र र असाध्यै धेरै अनियमितता हुने क्षेत्र हो । त्यो अनियमिततालाई नियन्त्रण गर्न पनि के गर्नुपर्छ भने यो क्षेत्रलाई आम जनताले बुझ्न सक्नुपर्छ । सबैतिरबाट खबरदारी हुनुपर्छ ।

जसरी अन्य क्षेत्रमा हुने अनियमितताको विषयमा सबै जानकार हुन्छन् । तर यो क्षेत्रमा हुने अनियमितताको बारेमा जानकार नहुँदा रहेछन् । त्यसकारण हाम्रा विगतका नीति, नियम, कानुन र जनतालाई सचेत गराउने कुरा मुख्य कुरा हो ।

मन्त्री शर्माले आगामी आर्थिक वर्षलाई सूचना, प्रविधि दशकको प्रस्थान वर्षको रूपमा अगाडि बढाउने र सूचना प्रविधिलाई अर्थतन्त्रको खम्बाहरूका रूपमा स्थापित गर्ने बताइन् । नेपाललाई सूचना प्रविधि हबको रूपमा विकास गर्ने, सूचना प्रविधि क्षेत्रमा १० वर्षमा ३० खर्ब रुपैयाँ बराबरको सेवा निर्यात गर्ने र ५ लाखलाई प्रत्यक्ष, अप्रत्यक्ष १० लाखलाई रोजगारी सिर्जना गर्ने लक्ष्य निर्धारण गरिएको उनको जिकिर थियो ।

उनले भनिन्, ‘आगामी वर्षको बजेटले अब हामी कता जाँदैछौँ भन्ने प्रारम्भिक खाका तय गरेको छ । आगामी आर्थिक वर्षलाई सूचना, प्रविधि दशकको प्रस्थान वर्षको रूपमा अगाडि बढाउने र सूचना प्रविधिलाई अर्थतन्त्रको खम्बाहरूका रूपमा स्थापित गर्ने, नेपाललाई सूचना प्रविधि हबको रूपमा विकास गर्ने, सूचना प्रविधि क्षेत्रमा १० वर्षमा ३० खर्ब रुपैयाँ बराबरको सेवा निर्यात गर्ने र ५ लाखलाई प्रत्यक्ष, अप्रत्यक्ष १० लाखलाई रोजगारी सिर्जना गर्ने लक्ष्य निर्धारण गरिएको छ ।

हामीले अहिले एउटा सानो कार्यदल बनाएर भए पनि जसरी आइसिटी दशकलाई कसरी अघि यहाँ पनि कुरा उठ्यो, पहिलो वर्षमा, दोस्रो र तेस्रो वर्षमा के गर्छौँ ? कसरी यो लक्ष्य हासिल गर्छौँ भन्ने कुराको स्पष्ट दृष्टिकोण आवश्यक छ ।

यसको निम्ति सञ्चार मन्त्रालय अन्तर्गत कार्यदल बनाएर काम अघि बढाउने भनेर होमवर्क गरिरहेका छौँ । यसबाट हामीले स्पष्ट दृष्टिकोण ल्याउने छौँ ।’मन्त्री शर्माले २०७६ सालमा सुरु भएको डिजिटल नेपाल फ्रेमवर्कको प्रभावकारी कार्यान्वयन हनु नसकेको बताइन् ।

प्रतिक्रिया दिनुहोस