कोशी प्रदेश सरकारविरुद्धको मुद्दाको सुनुवाइ स्थगित

सफल खबर संवाददाता

आइतबार, २७ जेठ २०८१, १२ : ०१
कोशी प्रदेश सरकारविरुद्धको मुद्दाको सुनुवाइ स्थगित

काठमाडौँ । कोशी प्रदेश सरकारविरुद्धको मुद्दाको सुनुवाइ स्थगित भएको छ ।आइतबार तीन न्यायाधीशमध्ये सुनिलकुमार पोखरेलले यसअघि कोशीकै विवादमा फैसला गरिसकेकाले उनले हेर्न अस्वीकार गरेसँगै सुनुवाइ स्थगित भएको हो ।

इजलासमा मुख्यमन्त्री हिक्मत कुमार कार्की पक्षका अधिवक्ता टीकाराम भट्टराईले पोखरेलले मुद्दा हेर्न मिल्ने कि नमिल्ने भनेर प्रश्न उठाएपछि उनले अन्य न्यायाधीशहरुसँगको छलफलपछि अलग हुने निर्णय लिएका हुन् ।

कोशी प्रदेश सरकारविरुद्धको रिट आइतबार पूर्ण इजलासमा सुनुवाइको पेशी तोकिएको  थियो । जसअनुसार पोखरेलसहित न्यायाधीशहरू प्रकाशकुमार ढुङ्गाना र अब्दुल अजिज मुसलमानको पूर्ण इजलासमा पेशी तोकिएको थियो ।

यसअघि सर्वोच्च अदालतका न्यायाधीश तिलप्रसाद श्रेष्ठ र बालकृष्ण ढकालको संयुक्त इजलासले गएको बुधवार पूर्ण इजलासमा पठाउने आदेश गरेको थियो ।एउटा मुख्यमन्त्रीलाई पदमुक्त नगरी संविधान विपरीत अर्को मुख्यमन्त्रीको नियुक्ति भएको भन्दै केदार कार्कीले दायर गरेको रिटमा अन्तरिम आदेश माग गरिएको छ ।

संविधानको धारा १६८ को उपधारा ५ अनुसार मुख्यमन्त्री नियुक्त भएका कार्कीलाई संसद्को सङ्कल्प प्रस्ताव, मुख्यमन्त्री बनाउँदा समर्थन दिएका एमालेका सांसदहरूले समर्थन नरहेको भनी प्रदेश प्रमुखलाई गराएको जानकारी र विश्वासको मत नलिएको आधारमा हटाइएको थियो ।

प्रतिक्रिया दिनुहोस