आर्थिक वर्षको अन्त्यमा कोशीका लेखा अधिकृतहरू आन्दोलित

सफल खबर संवाददाता

विहीबार, ०६ असार २०८१, १० : ५३
आर्थिक वर्षको अन्त्यमा कोशीका लेखा अधिकृतहरू आन्दोलित

विराटनगर। कोशी प्रदेश सरकार मातहतका लेखा अधिकृतहरू आर्थिक वर्षको अन्त्य(असार)मा काम रोकेर आन्दोलनमा उत्रिने भएका छन् । प्रदेश लोकसेवा आयोगले निजामती सेवातर्फ प्राविधिक तथा अप्राविधिक (अधिकृत स्तर नवौँ) तहका पदमा दरखास्त आह्वान गरेपछि आठौं तहका लेखा अधिकृतहरू काम रोकेर आन्दोलनमा उत्रिने भएका हुन्।

प्रदेश लोकसेवा आयोगले प्रदेश निजामती ऐनविपरीत विज्ञापन आह्वान गरेको भन्दै उनीहरू आन्दोलित छन् । यसले बढुवा तथा वृत्ति विकासमा असर परेको उनीहरूको भनाइ छ । प्रदेश लोकसेवा आयोगले गत चैत २६ गते नवौँ तहको विज्ञापन गरेको थियो ।

आठौँ तहका लेखा अधिकृतहरूले भने विज्ञापन रद्द गर्न माग गरेका छन् । लोक सेवाले विज्ञापन आह्वान गर्नुभन्दा अगाडि सङ्गठन तथा व्यवस्थापन सर्वेक्षण (ओएनएम) गर्नुपर्ने उनीहरूको माग छ ।

विरोधका कार्यक्रमअन्तर्गत आज कालोपटी बाँधेर आर्थिक मामिला मन्त्रालयमा धर्ना दिने कार्यक्रम रहेको कोशी प्रदेश सभा सचिवालका आठौँ तहका लेखा अधिकृत जीवन राजभण्डारीले बताए ।

कर्मचारी समायोजनका क्रममा ध्यान नदिएका कारण समस्या आएको उनले बताए । ‘प्रदेश लेखामा एउटा प्रदेश लेखा नियन्त्रक भनेर पद सिर्जना गरियो,’ उनले भने, ‘उहाँको अन्डरमा हामी ४०/४२ जना कर्मचारीलाई राखिएको छ ।  तर, अरू कुनै पनि हाम्रो दरबन्दी सिर्जना गरिएन ।’ 

दरबन्दी सिर्जनाले लेखा समूहको वृत्ति विकासको पाटो नै बन्द भएकाले आन्दोलन गर्न बाध्य भएको उनले बताए । ‘लेखा समूहमा चाहिने दरबन्दीको ओएनएम गरेर दरबन्दी सिर्जना गर्ने र एकैपटक सबै समूहका विज्ञापन गर्ने भनेर सहमति भएको थियो ।

तर, त्यो कार्यान्वयन नै गरिएन । यसले हाम्रो बढुवामा पनि असर पर्ने भयो । हामीभन्दा पछाडि आएकाहरूको बढुवा हुने अनि हाम्रो नहुने भयो । अब हामी संघमै जान्छौं भनेर पनि आन्दोलन गर्नुपर्ने भयो,’ उनले भने ।

प्रतिक्रिया दिनुहोस