टी–२० विश्वकपमा बंगलादेशको विजयी सुरुआत

सफल खबर संवाददाता

शनिबार, २६ जेठ २०८१, ११ : २८
टी–२० विश्वकपमा बंगलादेशको विजयी सुरुआत

अमेरिका ।  बंगलादेशले आईसीसी टी-२० विश्वकप २०२४ मा श्रीलंकालाई २ विकेटले हराउँदै विजयी सुरुआत गरेको छ । बंगलादेशले समूह डी मा २ महत्वपूर्ण अंक जोडेको हो ।

१२५ रनको लक्ष्य पछ्याएको बंगलादेशले १९ ओभरमा ८ विकेट गुमाउँदै पूरा गर्यो । तौव्हीद ह्दोयले २० बलमा १ चौका र ४ छक्कासहित सर्वाधिक ४० रन बनाए । लिटन दासले ३८ बलमा २ चौका र १ छक्कासहित ३६ रन बनाए । महमुदूल्लाह रियाद १३ बलमा १ छक्कासहित १६ रनमा नट आउट रहे । अन्य ब्याटरले भने राम्रो प्रदर्शन गर्न सकेनन् ।

श्रीलंकाका तीव्र गतिका बलर नुवान थुषाराले ४ ओभरमाच १८ रन खर्चेर ४ विकेट लिएपनि जित दिलाउन सकेनन् । वानिन्दु हसरंगाले २, धनन्जय डि सिल्भा र मथिशा पाथिरानाले १–१ विकेट लिए ।

त्यसअघि डालस स्थित ग्राण्ड प्रेरी क्रिकेट रंगशालामा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको श्रीलंकाले २० ओभरका ९ विकेट गुमाउँदै १२४ रन बनाएको थियो । ओपनर पाथुम निसांकाले २८ बलमा ७ चौका र १ छक्कासहित सर्वाधिक ४७ रन बनाए । कुशल मेन्डिस १०, कामिन्दु मेन्डिस ४, धनन्जय डि सिल्भा २१, चरिथ असलंका १९ र दासुन शानकाले ३ रन बनाए । एन्जिलो म्याथ्युजले १९ बलमा १६ रन बनाए ।

बंगलादेशको जितमा लेग स्पिनर रिशाद हसनले ४ ओभरमा २२ रन खर्चेर ३ विकेट लिए । मुश्ताफिजुर रहमानले ४ ओभरमा १७ रन खर्चेर ३ विकेट लिए । तस्किन अहमदले २ र तान्जिम हसन सकिबले १ विकेट लिए ।समूह डी मा को श्रीलंका पहिलो खेलमा दक्षिण अफ्रिकासँग ६ विकेटले पराजित भएको थियो । श्रीलंकाले बुधबार नेपालसँग खेल्नेछ । नेपाल पहिलो खेलमा नेदरल्यान्ड्ससँग पराजित भएको थियो ।