दक्षिणकालीमा दुर्घटना परेर मृत्यु भएका दुई जनाको सनाखत

सफल खबर संवाददाता

विहीबार, २४ जेठ २०८१, १० : ५०
दक्षिणकालीमा दुर्घटना परेर मृत्यु भएका दुई जनाको सनाखत

काठमाडौँ । काठमाडौँको दक्षिणकाली नगरपालिका–८ स्थित केराबारीमा मोटरसाइकल सहित सडकबाट खसेर मृत्यु भएका दुई जनाको पहिचान भएको छ । मृत्यु हुनेमा धादिङको सिद्धलेख गाउँपालिका–५ घर भएर भक्तपुर बस्ने ४२ वर्षीय रामचन्द्र खनाल र चाँगुनारायण नगरपालिका –५ भक्तपुर बस्ने ३२ बर्सिया सरिता राई छन् ।

प्रदेश–३–०२–००७ प ३८१२ नम्बरको पल्सर मोटरसाइकलसहित उनीहरू सडकबाट २ सय मिटर तल खसेको अवस्थामा भेटिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी नवराज अधिकारीले बताए ।

इलाका प्रहरी कार्यालय फर्पिङ र विपद् व्यवस्थापन कार्यालय सामाखुसीबाट खटिएको टोलीले घटनास्थलबाट शव निकालेको छ । घटनास्थलबाट टुक्रिएको अवस्थामा मोटरसाइकलको पाटपुर्जा  सङ्कलन गरिएको छ ।