बझाङ । सपना विष्ट कक्षा ७ मा अध्ययनरत छिन् । कक्षामा पढिरहेका बेला गत असोज १६ गते अपराह्न २ बजेको भूकम्पले भागाभाग भएको थियो । थलारा गाउँपालिका–९ मा रहेको भवानी आधारभूत विद्यालयका सपनासहितका विद्यार्थी कापीकलम छाडेर भागेका थिए ।
भुइँचालोले भवानी आधारभूत विद्यालयको भवन भग्नावशेषमा परिणत भएपछि विद्यार्थीहरू चौरमा बसेर पढ्न थाले । ‘चौरमा बस्दा पनि भूकम्प हुने र ढुङ्गाहरू खस्ने डर भइरह्यो’, विद्यालयका प्रधानाध्यापक पूर्णबहादुर विष्टले भने, ‘विद्यालय बन्द गर्ने कुरा भएन । चौरमा पढाउन पनि डर भयो । भिरालो ठाउँमा जोखिम मोलेर गुजार्यौँ ।
उक्त विद्यालयका बालबालिका खुला चौरमा पढ्न बाध्य भएको खबर सार्वजनिक भएपछि नेपाल रेडक्रसले चासो देखाएको प्रधानाध्यापक विष्ट सम्झन्छन् । ‘समाचार सार्वजनिक भएपछि रेडक्रसको काठमाडौँ शाखाले विद्यार्थीको समस्या समाधानको चासो देखायो । हामी निकै उत्साहित भयौँ’, उनले भने ।
शाखाले काठमाडौँका विद्यालयमा सञ्चालन गरेको ‘मेरो एक दिनको खाजा भूकम्प प्रभावित साथीलाई’ कार्यक्रम चलाएर रकम सङ्कलन गर्दै विद्यालयको खातामा जम्मा गर्याे । विद्यालय भवनको काम भइरह्यो र निर्माण कम्पनीसँग सम्झौता भएको तीन महिनामै भवन निर्माण गरेर रेडक्रस काठमाडौँ शाखाले हस्तान्तरण गर्याे ।
काठमाडौं शाखाले रेडक्रसकै विभिन्न उपशाखा, संस्था, व्यक्तिसँग हात फिजाएर रकम जम्मा गर्दै विद्यालय भवन निर्माण गरेको नेपाल रेडक्रस सोसाइटी काठमाडौं शाखाका सभापति श्यामकाजी डोटेलले बताए । उनले समाचारमा पढेको पीडालाई सहन नसकेर सबैलाई सहयोग माग्दै भवन निर्माण गरेको बताए ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ढेपबहादुर विष्टलाई भवन हस्तान्तरण गर्दै सभापति डोटेलले रेडक्रस भनेको पीडितको घाउमा मल्हम लगाउने संस्था भएको बताए ।
विद्यालय भवन हस्तान्तरण कार्यक्रममा जिल्ला समन्वय समिति उपप्रमुख कृष्णबहादुर विष्टले विद्यार्थीलाई खुला चौरमा पठनपाठन गराउँदा कापीकलम उडेर खोलामा पुग्ने समस्या अब टरेको बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २३ जेठ २०८१, १० : ०९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
गौरका सामुदायिक विद्यालयहरू थप ३ दिन बन्द
देशभरका आधाभन्दा बढी सामुदायिक विद्यालयको अवस्था हरिबिजोग
जाडो बढेसँगै सोलुखुम्बुका ९३ सामुदायिक विद्यालय बन्द
अत्यधिक चिसो बढेपछि कञ्चनपुरका विद्यालय बन्द
वीरगन्ज महानगर क्षेत्रका विद्यालय तीन दिन बन्द
प्रवासी नेपालीद्वारा म्याग्दीको दुई विद्यालयलाई कम्युटर सहयोग