कांग्रेस सांसदको आरोप- सहकारी ठगीको छानबिन गर्न समिति बनेपछि एमालेको मन पोलिरहेको छ

सफल खबर संवाददाता

मंगलबार, २२ जेठ २०८१, १४ : १३
कांग्रेस सांसदको आरोप- सहकारी ठगीको छानबिन गर्न समिति बनेपछि एमालेको मन पोलिरहेको छ

काठमाडौं। नेपाली कांग्रेसकी सांसद रमा कोइराला पौडेलले सहकारी ठगीको छानबिनका लागि संसदीय समिति गठन भएकोमा एमालेको मन पोलिरहेको टिप्पणी गरेकी छिन् । कांग्रेसको दबाबका कारण छानबिन समिति बन्न सफल भएको उनले बताइन् ।

मंगलबार बसेको प्रतिनिधि सभा बैठकको विशेष समयमा सांसद कोइरालाले संसदीय छानबिन समितिको माग राखेर संसद्‌मा विरोध गर्दा सत्तापक्षले संसद्लाई ब्यारेक बनाउन खोजेको आरोप लगाएकी हुन् ।

‘लाखौं सहकारी पीडितको आवाज उठाएर संसद्‌मा वेल घेर्न जाँदा रोक्ने काम भयो । संसदीय छानबिन समिति बनेपछि मन पोलेर आगोको ज्वाला ओकल्न थालिएको छ,’ कोइरालाले भनिन्, ‘संसद् भित्रको दृष्यले लोकतान्त्रिक संसद्‌भन्दा पनि कम्युनिस्ट ब्यारेकको झल्को दिएको थियो ।’

संसद्ले नै कार्यादेश दिइसकेको अवस्थामा संसदीय छानबिन समितिको टीओआर समितिले नै बनाउने भनेर सत्तापक्षका तर्फबाट संसद्‌मा बोलिएको भन्दै उनले आपत्ति जनाइन् ।

‘संसद्ले नै टीओआर दिएपछि समितिले बनाउने कुरा उठ्यो, यो संसद् भन्दा ठूलो संसद्ले गठन गरेको समिति हो ?,’ उनले प्रश्न गरिन् ।पार्टीको नाम नतोके पनि कोइरालाको आरोप नेकपा एमालेप्रति लक्षित थियो ।

प्रतिक्रिया दिनुहोस