युग सुहाउँदो शिक्षाका लागि धनगढीमा लिटल एन्जल्सको कार्यशाला

रासस

आइतबार, २० जेठ २०८१, १६ : ३९
युग सुहाउँदो शिक्षाका लागि धनगढीमा लिटल एन्जल्सको कार्यशाला

धनगढी। लिटल एन्जल्स कलेज अफ म्यानेजमेन्ट काठमाडौंले शिक्षण पद्धतिलाई थप प्रभावकारी बनाइ युग सुहाउँदो बनाउन धनगढीमा कार्यशाला गोष्ठी गरिएको छ ।कार्यशालामा शिक्षण पद्धतिमा देखिएका नौला आयाम, संवेदनात्मक चेतनाको विकास, व्यवहारिक जीवनमा शिक्षाको प्रयोगलगायतका विषयमा छलफल गरिएको थियो।

गोष्ठीमा कलेजका प्रधानाध्यापक डा. मित्रबन्धु पौडेलले शिक्षक तथा विद्यार्थीमा देखिने तनाव, अध्ययन अध्यापनको चुनौती कम गराउन शिक्षकबीच शिक्षण सिकाइ कार्यक्रम आयोजना गरिएको बताएका थिए ।

गोष्ठीमा प्रशिक्षकसमेत रहेका डा. पौडेलले शिक्षण क्षेत्रमा देखिएको चुनौती र निराशालाई न्यूनीकरण गर्दै शिक्षकले अध्ययनलाई प्रभावकारी बनाउनु पर्नेमा जोड दिए ।शिक्षक र विद्यार्थीबीच सैद्धान्तिक अध्ययनसँगै व्यवहारिक र अभ्यासात्मक शिक्षण आवश्यक हुनुपर्ने बताउँदै उनले विद्यार्थीसँगै अध्यापन गराउने शिक्षकमा समेत संवेदनात्मक चेतको ज्ञान हुनुपर्ने बताए ।

‘शिक्षक पेशालाई मर्यादित बनाउन शिक्षक आफैं पनि तनाव मुक्त हुनुपर्छ । कक्षामा शिक्षक तनावमा हुने र विद्यार्थीमा समेत विभिन्न तनाव रहने गरेको पाइएकाले सकारात्मक सिकाई जरुरी रहेको छ,’ उनले भने ।

लिटल एन्जल्स कलेज अफ म्यानेजमेन्टकी डा. स्मृतिकला पन्तले शैक्षिक गुणस्तर कायम गर्नका लागि शिक्षक स्वयं जिम्मेवार हुनुपर्ने बताइन् । उनले वर्तमान युग सुहाउँदो शिक्षाको लागि शिक्षक अध्ययनशिल हुनुपर्ने बताइन् ।

छलफल कार्यक्रममा विद्यार्थीलाई सृजनात्मक अभ्यास हुनुपर्ने र शिक्षकले अध्ययन गर्न आवश्यक रहेको सहभागीले जोड दिएका थिए ।कार्यक्रममा लिटल एन्जल्सका कार्यक्रम संयोजक कृष्ण अवस्थीले शिक्षण पेशामा देखिएको समस्या र चुनौती निराकरणका लागि छलफल प्रभावकारी भएको हुनुपर्नेमा जोड दिए ।

कार्यक्रममा धनगढी, अत्तरियाका माध्यमिक तथा क्याम्पसका ४० जना भन्दा बढी प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।कलेजले यसअघि जनकपुरधाम,  इटहरी र विराटनगरमा एकदिने कार्यशाला गोष्ठीको सम्पन्न गरेको थियो ।

प्रतिक्रिया दिनुहोस