फिलिपिन्समा चित्रकला प्रदर्शनी, उल्लेखनीय सहभागीता

विहीबार, १३ पुस २०७४, ११ : १०
फिलिपिन्समा चित्रकला प्रदर्शनी, उल्लेखनीय सहभागीता

मनिला, फिलिपिन्स । फिलिपिन्सको दगुपान पाङ्गासिनानस्थित मंगलदान नेशनल हाई स्कुलमा आयोजित चित्रकला प्रदर्शनीमा सहभागी हुनेको संख्या उल्लेखनीय रहेको छ ।

ललितपुरको सौगलमा स्थापित योङ पिकासो संस्थाद्वारा यहाँ आयोजित प्रदर्शनीमा सहभागी हुन विद्यार्थी, चित्रकार, स्थानीयलगायत सरोकारवालाको सहभागीता रहेको आयोजकले जनाएका छन् । उक्त प्रदर्शनीमा नेपालको पर्यटनलाई झल्काउने किसिमका चित्र, कला, संस्कृति, परम्परा, धर्म, जातीय वेषभूषालगायत झल्कने खालको चित्र राखिएको संस्थाका प्रबन्ध निर्देशक एवं चित्रकार अजय देशारले बताए ।

प्रदर्शनीका लागि उक्त संस्थाको प्रतिनिधित्व गर्दै अजय देशार र चित्रकार किशोर नकर्मी यहाँ आएको उनले बताए । मंगलबारदेखि शुरु भएको प्रदर्शनी तीन दिनसम्म सञ्चालन हुने उनले जानकारी दिए  एकल चित्रकला प्रदर्शनीअन्तर्गत अजय देशार, किशोर नकर्मी, विपना महर्जन र सितु मास्केद्वारा सिर्जना गरिएका चित्र राखिएको थियो ।

विसं २०५५ देखि निरन्तर कला क्षेत्रमा लाग्नुभएका देशारद्वारा सिर्जित चित्रले राजधानीमा रहेको पर्व एवं जात्राका बारेमा दर्शाउन खोजेको पाइन्छ । कला क्षेत्रमा क्रियाशील मास्केद्वारा सिर्जित चित्रले नेपालका विकट क्षेत्रमा अवस्थित गुम्बाका बारेमा केही सन्देश दिन खोजेको आभास पाइन्छ ।

विसं २०६० देखि कला क्षेत्रमा क्रियाशील नकर्मीद्वारा सिर्जना गरिएका चित्रले बुद्धका सन्देशलाई बाहिर ल्याउन खोजेको देखिन्छ । एक्रीलिक रंगद्वारा सिर्जित उक्त चित्रले बुद्धको महिमालाई विश्वसामु परिचित गराउन थप मद्दत पुग्न सक्ने विश्वास नकर्मीको रहेको छ । उनका अनुसार अन्तरराष्ट्रियरुपमा थालनी गरिएको प्रदर्शनीको मुख्य ध्येय भनेकै राष्ट्रको पहिचानलाई यस क्षेत्रमा चिनाए ।

यस्तै, प्रिन्ट चित्रमा दक्षता हासिल गर्नुभएका महर्जनद्वारा सिर्जित चित्रले नेपालमा मानिँदै आएको कलासंस्कृतिलाई झल्काउने प्रयास गरेको देखिन्छ । चित्रकार जेनी क्युलोपका अनुसार प्रदर्शनीमा राखिएका हरेक चित्रले नेपालमा परम्परागत रुपमा मान्दै आएको संस्कृतिलाई जोगाउन तथा मौलिक पहिचानलाई मूर्तरुप प्रदान गर्न सक्षम रहन सक्ने विश्वास रहेको छ । चित्रद्वारा नै समाजका हरेक गतिविधिलाई बाहिर उजागर गर्न सकिने उनले बताए ।
प्रदर्शनीमा माछापुच्छ्रे हिमाल, चैत्यहरु, मठमन्दिर, बुद्धका मुहार अंकित चित्र, विभिन्न प्रकारका पक्षी, परम्परागत गाउँघरलाई चिनाउने किसिमका चित्र तथा साधु, खोलानाला लगायतका चित्रले अधिक प्राथमिकता पाएको छ । मिक्समिडिया, उडकट (काष्ठ) बाट तयार पारिएका, इचिङ, लिथोग्राफीलगायतका चित्र समेत प्रदर्शनीमा राखिएका थिए ।(रासस)

प्रतिक्रिया दिनुहोस