सप्तरीमा ट्याक्टर दुर्घटना : २ जनाको मृत्यु, २२ जना घाइते

सफल खबर संवाददाता

आइतबार, २० जेठ २०८१, १० : १२
सप्तरीमा ट्याक्टर दुर्घटना : २ जनाको मृत्यु, २२ जना घाइते

सप्तरी । सप्तरीमा आँप बोकेको ट्याक्टर पल्टिँदा दुई जनाको मृत्यु भएको छ। दुर्घटनामा अन्य २२ जना घाइते भएका छन्। जसमध्ये दुई जनाको अवस्था गम्भीर छ।

कञ्चनपुर राजविराज हुलाकी सडक खण्डमा पर्ने सुब्बाटोलमा शनिबार साँझ स १ त ६२९५  नम्बरको ट्रयाक्टर दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय सप्तरीका डीएसपी डुन्डीराज न्यौपानेले जानकारी दिए। 

हुलाकी सडक भएर राजविराजबाट आँप लिए कञ्चनपुरतर्फ आउँदै गरेको अवस्थामा ट्याक्टर सडकबाट झण्डै १० मिटर तल खसेर दुर्घटना भएको हो। ट्याक्टर आफैँ अनियन्त्रित भएर दुर्घटनामा परेको न्यौपानेले बताए।

घाइतेमध्ये १४ जनाको विराटनगरको गोल्डेन सिटी अस्पतालमा उपचार भइरहेको छ। त्यहाँ उपचाररतमध्ये दुईजनाको अवस्था गम्भीर रहेको उनले जानकारी दिए।  

घाइतेमध्ये सामान्य अवस्थाका ८ जना स्थानीय अस्पतालमा उपचारपछि डिस्चार्ज भएका छन्। दुई जना घाइतेको छिन्नमस्ता अस्पताल राजविराजमा उपचार भइरहेको छ।