पुँजीवादले महिलालाई नाफा कमाउने वस्तुका रूपमा बिक्री गर्छ : गृहमन्त्री थापा

पत्रपत्रिकाबाट

विहीबार, ११ असोज २०७५, ०८ : १८
पुँजीवादले महिलालाई नाफा कमाउने  वस्तुका रूपमा बिक्री गर्छ : गृहमन्त्री थापा

काठमाडौं । निर्मला पन्तको बलात्कारपछिको हत्या र त्यसपछि भएका अन्य यस्तै प्रकृतिका घटनाबारे स्पष्ट पार्न बुधबार प्रतिनिधिसभाको राज्य व्यवस्था समितिमा उपस्थिति भएका थिए गृहमन्त्री रामबहादुर थापा ।
झन्डै दुई महिनासम्म पनि दोषी पत्ता नलागेपछि समितिले मन्त्रीसहित सुरक्षा अधिकारीलाई बोलाएको थियो । तीन घण्टासम्म चलेको बैठकमा दोषी को हो भन्ने मन्त्रीले बताउन सकेनन् बरु उनले बलात्कारबारे लामै सैद्धान्तिक व्याख्या गरे ।
मुलुकमा बढेका हत्या र बलात्कारका घटनाबारे संसद्लाई जानकारी गराउन हाजिर भएका मन्त्री थापाको प्रस्तुति भने कम्युनिस्ट पार्टीको आन्तरिक प्रशिक्षणमा कार्यकर्तासामु गर्ने सिद्धान्तको व्याख्या जस्तै थियो । सुरुमै बोल्ने समय पाएका मन्त्री थापाले बलात्कारका घटना बढ्नुको मुख्य कारण ‘पुँजीवाद’लाई औंल्याए । ‘अझै पनि समाजमा सामन्ती संस्कार बाँकी छ, पुँजीवाद हावी छ,’ उनले बलात्कारको कारण पेस गर्दै भने, ‘पँुजीवादले यस्ता हिंसा र बलात्कार जन्माउँछ ।’ 

पँुजीवादले महिलालाई कसरी हेर्छ त ? मन्त्री थापा बैठकमा यसको अतिरिक्त व्याख्या गर्दै अघि बढे । ‘पुँजीवादले महिलालाई नाफा कमाउने मालका रूपमा बिक्री गर्छ,’ उनले भने, ‘पँुजीवाद भएका ठाउँमा बलात्कारका घटना र वेश्यावृत्ति हुन्छ ।’ यसको पुष्टि गर्न उनले अमेरिका र भारतको सन्दर्भ जोडे । ‘अमेरिकामा पनि ‘रेप’ हुन्छ, हत्याकाण्ड हुन्छ, भारतमा पनि हुन्छ’ उदाहरण दिए । यो समाचार आजको कान्तिपुर दैनिकले छापेको छ । 
 

प्रतिक्रिया दिनुहोस